कालंगा हाइड्रोको आईपीओ निष्काशन सुरु, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
जलसरोकार
काठमाडौँ : कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी रु एक अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १४ लाख कित्ता साधारण शेयर स्थानीयका लागि निष्काशन गरेको हो। प्रतिशेयर अंकित मूल्य रु १०० तोकिएको छ।
स्थानीयका लागि छुट्याइएको १४ लाख कित्तामध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा चैत २४ गते र ढिलोमा २०८३ वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि CARE Ratings Nepal ले कम्पनीलाई ‘केयरएनपी डबल बी (BB)’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। करिब रु चार अर्ब ३३ करोड लागतमा निर्माण भएको उक्त आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित तोकिएका बैंक तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
ऊर्जा क्षेत्रमा लगानी विस्तारको लक्ष्यसहित आएको यो आईपीओले स्थानीय र विदेशमा रहेका नेपालीलाई प्रत्यक्ष लगानीको अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य