चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
जलसरोकार
रसुवा: चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका क्रममा भेटिएका फलामे डन्डी तथा कडा भग्नावशेषलाई लिएर सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले उद्धार टोलीले पहिले नै यस्तो अवरोधको अपेक्षा गरेको बताएका छन्।
चिलिमे उद्धार अभियानमा संलग्न डिक्सले सुरुङभित्र भेटिएका फलामे डन्डीहरू ‘ब्लास्ट ब्लकेज’ अर्थात् विस्फोट गरी बाटो खोल्नुपर्ने क्षेत्रमा रहेको अवरोधको हिस्सा भएको बताएका छन्।
“यी फलामे डन्डीहरू अपेक्षित नै हुन्। हामीले अनुमान गरेको ब्लास्ट ब्लकेजको हिस्सा हुन्। यो उद्धार योजनाकै एउटा भाग हो,” डिक्सले भनेका छन्।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराज महर्जनका अनुसार सुरुङभित्र उद्धार टोलीले केही थप दूरी पार गरे पनि कडा भग्नावशेष र फलामे डन्डी भेटिएपछि त्यसलाई हटाउन कठिन भइरहेको छ। एक्स्काभेटरले समेत सजिलै तान्न नसक्ने गरी भग्नावशेष कडा रहेको उनले बताएका छन्।
तर डिक्सको भनाइले सुरुङभित्र भेटिएको यो अवरोधलाई उद्धार अभियानका लागि नयाँ वा अनपेक्षित समस्या नभएको संकेत गर्छ। उद्धार योजनाअनुसार यस्ता अवरोध हटाउँदै टोली क्रमशः अगाडि बढ्ने तयारीमा छ।
यसअघि डिक्सले सुरुङभित्रको साँघुरो भागबाट घस्रिँदै अगाडि बढ्नु सामान्यतः छिटो र प्रभावकारी उपाय हुने बताएका थिए। यस्तो विधिले सुरुङको अर्को भागमा रहेको अज्ञात अवस्था वा त्यहाँ मानिसहरू हुन सक्ने सम्भावित क्षेत्रमा कम असर पार्ने उनको भनाइ थियो।
चिलिमे सुरुङमा फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना, भारतीय उद्धार टोली, आयोजना र विदेशी सुरुङ विज्ञहरू संयुक्त रूपमा सक्रिय छन्। कठिन भग्नावशेषका बीच पनि उद्धार टोलीले सुरुङभित्र क्रमशः बाटो बनाउँदै अगाडि बढिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न
-
चिलिमे उद्धारमा सुरुङभित्र थप प्रगति, कडा लेदो र फलामे डन्डीले चुनौती