सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

इप्पानको ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तरक्रिया आज हुँदै

जलसरोकार
बुधबार, जेठ २०, २०८३ | ११:१३:४० बजे

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको विकास तथा संस्थागत सुधारसम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक उक्त कार्यक्रम आज साँझ ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा हुने इप्पान स्राेतले जनाएकाे छ । 

कार्यक्रममा इप्पानको संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रणालीमा सुधार तथा विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाइएको छ। विशेष गरी २१ औं र २३ औं साधारणसभाबाट आएको विधान संशोधन प्रस्ताव तथा आगामी २४ औं साधारणसभामा पेश हुने एजेन्डालाई केन्द्रमा राखेर छलफल गरिने बताइएको छ।

इप्पानका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विधान संशोधनमार्फत संस्थालाई थप प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउनु हो। हालको व्यवस्थाअनुसार अध्यक्ष बन्न कार्यसमितिमा प्रवेश गरी पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगेर करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम हुने र नयाँ पुस्ताका व्यवसायीहरूको अवसर सीमित हुने भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा उठाइएको छ।

कार्यक्रममा परिवर्तनकारी समूहका प्रतिनिधिहरूले नेतृत्व प्रणालीमा सुधार र आगामी निर्वाचन रणनीतिबारे धारणा प्रस्तुत गर्ने जनाइएको छ। साथै, वर्तमान कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष तथा वरिष्ठ ऊर्जा उद्यमीहरूको पनि उपस्थिति रहनेछ।

इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दीप शाहलगायतको उपस्थितिमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ।

ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै संस्थालाई अझ सुदृढ र लोकतान्त्रिक बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। आयोजकले सदस्य, ऊर्जा व्यवसायी, पत्रकार तथा सरोकारवाला सबैलाई सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ | ११:१३:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया