भोटेकोशी बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको २०८३ साल भदौ ११ गते बसेको कार्यसमितिको २०६औँ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
भोटेकोशी बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले ज्यान गुमाएका कर्मचारी तथा मजदुरप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।
इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको इप्पानले जनाएको छ ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार उपयुक्त समय पारेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ ।
अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र भएकाले विपद्को समयमा ऊर्जा क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।
“विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ”, उहाँले भन्नुभयो ।
उहाँले यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारतापूर्वक सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'बी' मा फेवा कन्स्ट्रक्सनका १६० जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि अपिल (सूचीसहित)
-
माथिल्लो त्रिशूली-१ पुग्न कोरियाली दूतावासले माग्यो ६ हेलिकप्टरको अनुमति
-
त्रिशूली-३ एमा फसेकाको उद्धारका लागि सुरुङ विशेषज्ञ न्यौपानेका चार विकल्प, सामग्री पाए ४८ घण्टामै प्रगति हुने विश्वास
-
माथिल्लो त्रिशूली-३ बीका २१३ जनामध्ये ९१ सम्पर्कमा, १२२ अझै सम्पर्कविहीन
-
लाङटाङ जलविद्युत् आयोजनाका १८ जनाको उद्धार
-
भोटेकोशी बाढीपछि ९३४ जना सम्पर्कविहीन, जलविद्युत् आयोजनामा उद्धारको चटारो