क्षतिग्रस्त निजी संरचनाको बीमा दाबी २३ अर्बभन्दा बढी, डेढ अर्बभन्दा बढी भुक्तानी
जलसरोकार
काठमाडौं ः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त निजी संरचनाको बीमा दाबी रकम रु २३ अर्ब २२ करोड ७८ लाख पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले ती दाबीमध्ये हालसम्म करिब रु एक अर्ब ५८ करोड ५६ लाख बराबरको रकम भुक्तानी गरिसकेका छन् ।
बीमितहरूले क्षतिपूर्तिको दाबी दर्ता गरेपछि प्राधिकरणको सक्रियतामा धेरै कम्पनीहरूले अग्रिम रूपमा भुक्तानी सुरु गरेका छन् । असोज २३ गतेसम्म प्राधिकरणमा जम्मा तीन हजार ९९ वटा बीमा दाबीका निवेदन परेको जनाएको छ । तीमध्ये सबैभन्दा बढी मोटर बीमा दुई हजार २०६ छन् भने सम्पत्ति बीमा ६५३, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १९०, परिवहन बीमा १२ र अन्य ३८ रहेका छन् ।
प्रदेशगत विवरणअनुसार वाग्मती प्रदेशमा सबैभन्दा धेरै १ हजार ६६९ बीमा दाबी दर्ता भएका छन् । कोशीमा ३९६, मधेसमा ३५५, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा १९९ दाबी परेको प्राधिकरणले जनाएको छ ।
बीमा दाबीमा कम्पनीगत रूपमा हेर्दा सिद्धार्थ इन्स्योरेन्समा सबैभन्दा बढी रु ५ अर्ब ६१ करोड ४४ लाख बराबरको दाबी परेको छ । सो कम्पनीले हालसम्म रु ५९ करोड ४४ लाख भुक्तानी गरिसकेको छ ।
त्यसैगरी दी ओरियण्टल इन्स्योरेन्समा रु ५ अर्ब २४ करोड ४७ लाख बराबरको दाबी परेका छन् र रु ५ लाख ७० हजार भुक्तानी गरिएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७५ करोड ९७ लाख बराबरको बीमा दाबी दर्ता भएको छ भने रु ३० करोड ४३ लाख वितरण गरिएको छ ।
शिखर इन्स्योरेन्समा रु २ अर्ब ४० करोड ८६ लाख बराबरको दाबी परेका छन् र सो कम्पनीले रु ३१ करोड ९४ लाख बराबरको रकम भुक्तानी गरेको छ ।
हाल देशभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । बीमाले आवरण गरेका निजी संरचनामा क्षतिपूर्तिको प्रक्रिया सुरु भए पनि सरकारी तथा सार्वजनिक सम्पत्तिको बीमा नभएकाले ती क्षतिपूर्ति बाहिर रहेका प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने