सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अविरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध

जलसरोकार
बुधबार, साउन १३, २०८३ | ०९:४६:०७ बजे

 

काठमाडौं : अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे बनेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सडक बन्द भएको छ भने रोल्पाको परिवर्तन गाउँपालिका–१ अन्तर्गत घोराही–थवाङ शहीद राजमार्गमा आज बिहान पहिरो खस्दा सवारी आवागमन रोकिएको छ।

यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्थित बेँसीसहर–च्यामे–मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको

प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ | ०९:४६:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया