अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
जलसरोकार
काठमाडौं : अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि आवागमन रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले कटान गरेपछि पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। साथै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी, जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलामा आएको बाढीले सडक कटान गरेपछि सवारी आवागमन रोकिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ क्षेत्रमा आज बिहान खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्डसमेत अवरुद्ध भएको छ।
नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी