दोस्रोपटक ठेक्का भयो । चार कम्पनीले हाले— एसईडब्लू इन्फ्रास्ट्रक्चर लिमिटेड र थ्रीएचसी जेभी, ज्याङसी कन्स्ट्रक्सन कम्पनी र एनके कन्स्ट्रक्सन, २एमजी इनसाट मेडेनक्लिक टीआईसी– फेवा जेभी र सिनोहाइड्रो । अघिल्लो साता (२२ अप्रिल २०२५) यी चारवटै कम्पनीका प्राविधिक मूल्यांकन गर्यो जगदुल्ला हाइड्रोले । तर अचम्मको कुरा के भयो भने हाइड्रोको कुनै काम नगरेको, बरु कीर्ते गरी अरुले बनाएको आयोजनालाई आफूले बनाएको, निर्माण भइसकेपछि नियोक्ताको कार्यालयको नाम, इमेल, लेटर हेड आदि हुनुपर्ने शर्तविपरीत सबै नक्कली बनाएको ज्याङ्क्सीलाई प्राविधिक हिसाबले योग्य बनाइयो । चिनियाँ कम्पनी ज्याङ्क्सीले सिनो हाइड्रोले अफ्रिकी मुलुक जाम्बियामा बनाएकै आयोजनाको फोटो र गुगुल कोअर्डिनेट (कुन ठाउँमा हो भन्ने देखाउने) राख्यो । मूल्यांकन समितिले चारवटा प्रतिस्पर्धीलाई फेल गराएर नक्कली कागजात पेश गरेको ज्याङ्क्सी र सिनोहाइड्रोलाई मात्र पास गरायो । ज्याङ्क्सीसँग मात्र होइन, नेपाली जेभी (संयुक्त उपक्रम) रहेको एएनके कन्स्ट्रक्सनसँग पनि हाइड्रो प्रोजेक्ट बनाएको अनुभव छैन ।
ज्याङ्क्सीले गरेको बदमासी सार्वजनिक भएपछि जगदुल्लाको यो टेण्डर पुनः रद्द हुने संघारमा पुगेको छ । मूल्यांकन समितिले प्रमाणीकृत नभएका कागजातलाई योग्यताको रुपमा मूल्यांकन गरे । यसको अर्थ कि मूल्यांकन समितिको क्षमता पुगेन वा मिलेमतो भयो । त्यही मूल्यांकन गर्न समिति बनाइएको हो, तर समितिले धर्म निर्वाह गर्न सकेन र विवादमा पर्यो ।
अब अर्काे फसाद आइलाग्यो । यसको छानबिन भयो भने ज्याङ्क्सी आउट हुने मात्र होइन, उसले राखेको ४० करोड धरौटी पनि जफत हुने स्थिति छ । त्यो धरौटी ज्याङ्क्सीले राखेको होइन, उसको नेपाली साझेदार एएनकेले राखेको हो । ज्याङ्क्सीले ठेक्का पायो भने त्यो गैरकानुनी हुने देखिइसकेको छ । किनभने कागजपत्र नै नक्कली छन् । ठेक्का नदिउँ ऊर्जा मन्त्रीको चासो छ । भन्ने बेलामा ऊर्जा मन्त्री जगदुल्ला हाइड्रोपावर कम्पनीमा संलग्नै छैनन् । तर उनकै खेलका कारण आज एक वर्ष बित्थामा बितेको छ । र अर्काे खतरा यसको ठेक्का पुनः रद्द हुनेवाला छ । यसका लागि ठेक्का नपाएकाहरु आफूले कोट गरेको प्राइसलाई ठेक्काको मूल्य नै सार्वजनिक भइसक्यो भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार पुगिसकेका छन् । जबकि आफूले कोट गरेको ठेक्का मूल्य आफूलाई मात्र थाहा हुन्छ, टेण्डरमा राखिएको मूल्य थाहा हुने कुरो भएन ।
ज्याङ्क्सीको धरौटी जोगाउन वा ठेक्कै पुनः रद्द गर्न अर्काे खेल सुरु भइसकेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ ले ‘सार्वजनिक निकायले खरिद कारबाही वा निर्णय गर्दा कुनै त्रुटि गरेको वा पालना गर्नुपर्ने कर्तव्य पालना नगरेकोले आफूलाई क्षति पुग्ने वा पुग्न सक्ने कारण खुलाई कुनै बोलपत्रदाता वा प्रस्तावदाताले त्यस्तो त्रुटि वा निर्णयको पुनरावलोकनका लागि सम्बन्धित सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सक्नेछ’ बन्दोबस्त गरेको छ ।
यही प्रावधानबमोजिम आफ्नो वौद्धिक सम्पत्ति चोरेको (सिनोहाइड्रोले बनाएको आयोजना आफूले बनाएँ भन्दै ज्याङ्क्सीले कागजात पेश गरेको) र योग्यता नपुगेको विषय उठाई सिनो हाइड्रोले निवेदन दिंदा कम्पनीले ‘हेर्न जरुरी छैन’ भन्ने खालको प्रत्युत्तर दिएको छ । ज्याङ्क्सीले गरेको बदमासी एक त सार्वजनिक भइसकेको छ, त्यसमाथि अर्काे कम्पनीले आफ्नो वौद्धिक सम्पत्ति चोरेको आरोप लगाई छानबिनका लागि दफा ४७ बमोजिम निवेदन दिंदा अनुसन्धान गर्नुको साटो उल्टै आरोपितको ढाकछोप गर्नुको अर्थ अझै पनि चलखेलकै संकेत हो ।
तर सार्वजनि खरिद ऐनले तीन अवस्थामा मात्र ठेक्का रद्द गर्न पाउने बन्दोबस्त गरेको छ । पहिलो, सहभागी कुनै पनि बोलपत्रदाता योग्य नभएमा, दोस्रो, अनुमानित लागतभन्दा धेरै मूल्यमा बिड प्राइस राखेमा, र तेस्रो, आयोजना वा खरिद गर्नुपर्ने अवस्थै नरहेमा । हालको अवस्था हेर्दा यी तीनवटै प्रावधान लागू भएको स्थिति होइन । अघिल्लोपटक सबै बोलपत्रदातालाई अयोग्य घोषित गरिएको थियो । यसपालि दुईवटालाई मात्र अयोग्य बनाइएको छ । कानुनमा लेखिएका कुरा पालना नगर्नु कर्मचारीको तहको मात्र कुरा होइन, राजनीतिक तहले जे गरे पनि हुन्छ भन्ने दादागिरी पनि हो यो । किनभने ‘नेपालमा मन्त्री र नेताहरुलाई कानुन नलाग्ने’ अभ्यास हुँदै आएका छन् सर्याैं ‘इस्यूज’ मा । त्यसैले जगदुल्लामा कानुनको धज्जी उडाइँदैछ ।
यो आयोजना एक वर्ष ढिला हुँदा यसले उत्पादन गर्ने बिजुली (कुल ६२३ गिगावाट आवर अर्थात् ६२ करोड ३० लाख युनिट) बिक्री गरेर आउने आम्दानी गुम्छ । यो पिकिङ प्रोजेक्ट भएकाले सुख्खायाममा १ अर्ब ८४ करोड र वर्षायाामा २ अर्ब ६ करोड रुपैयाँको बिजुली बेचेर आम्दानी हुन्छ । कुल मिलाएर वार्षिक ३ अर्ब ९० करोड रुपैयाँ आम्दानी गुम्छ, एक वर्ष ढिला हुँदा । गत वैशाखमा वित्तीय व्यवस्थापन भएयता एक वर्षकै अवधिमा ठेक्का लगाउन सकेको छैन । यसबाट एक वर्ष त ढिला भइसकेको छ । अर्थात् कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ गुमाइसकेको छ । फेरि पनि ठेक्का रद्द गर्ने कुरो छ । ऊर्जा मन्त्री खड्काले हस्तक्षेप (प्रत्यक्ष नदेखिने) गर्दा यो आयोजना पनि माथिल्लो त्रिशुली थ्री बीको हालतमा पुग्ने देखिन्छ । माथिल्लो त्रिशुली थ्री बी मा पनि यस्तै अनुभव नै नभएको ठेकेदारले पायो । काम गर्न सकेन । पुनः ठेक्का लगाउँदा भनेजस्तो ठेकेदार आएनन् फेरि ठेक्कामै अलमलिएको अवस्था छ । तर यसबाट देशलाई अर्बाैं रुपैयाँको घाटासँग ऊर्जा मन्त्रीलाई मतलब भएन । तर उनले भनेको ठेकेदारले नपाएसम्म ठेक्काका शर्त र म्याद थपिरहने अनि परेन भने पुनः रद्द गर्ने जगदुल्लाको नियति नै भइसकेको छ ।
लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने
जगदुल्ला जलविद्युत्को ठेक्का पुनः रद्द गर्ने चलखेल, एक वर्ष ढिला हुँदा ३ अर्ब ९० करोड आम्दानी गयाे खेर
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ( LIVE VIDEO)