सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जेनजी आन्दोलन नभएको भए मुलुक भड्खालोतर्फ जान्थ्यो’ : स्वर्णिम वाग्ले

जलसरोकार
मंगलबार, वैशाख २९, २०८३ | १२:५६:०३ बजे

 

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको अर्बौं रुपैयाँ दुरुपयोग गरेर आर्थिक र राजनीतिक संस्थामाथि प्रभाव जमाएको आरोप लगाएका छन् ।

मंगलबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिको कब्जामा पुगेको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए । उनले केही समूहले १५–१६ अर्ब रुपैयाँ बराबर जनताको पैसा अपचलन गर्दै बजारमा कृत्रिम प्रभाव सिर्जना गरेको दाबी गरे ।

उनले पुँजी बजार सुधारका लागि सरकारले व्यापक संरचनात्मक परिवर्तनको तयारी गरिरहेको जानकारी दिए । स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको बताए ।

अर्थमन्त्री वाग्लेले केही प्रभावशाली समूहले राजनीतिसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । “मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरियो, केही प्रभावशाली नेताहरूलाई प्रभावमा राखेर आर्थिक संस्थामात्र होइन राजनीतिक संस्थासमेत कब्जा गर्ने प्रयास भयो,” उनले भने ।

उनले राष्ट्रपतिमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पनि पुँजी बजारप्रति उदार नीति घोषणा गरिएको स्मरण गराउँदै आगामी बजेटमार्फत त्यसलाई थप ठोस रूप दिइने बताए ।

अर्थमन्त्री वाग्लेले ‘जेनजी आन्दोलन’ लाई परिवर्तनको महत्त्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गरे । अहिले सरकार सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गरे, “पहिलो वर्ष सुशासनको जग बसाल्ने र त्यसपछि विकास निर्माणका काम स्वतः अगाडि बढ्नेछन् ।”

उनले सरकार सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर आर्थिक प्रणालीलाई विश्वसनीय बनाउने दिशामा अघि बढिरहेको बताए ।

प्रकाशित मिति : मंगलबार, वैशाख २९, २०८३ | १२:५६:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया