जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारतले विस्फोटक पदार्थ रोक्दा ३ दर्जन जलविद्युत् आयोजनाका निर्माण कार्य ठप्प हुँदै

६ महिनादेखि विस्फोटक पदार्थको आयात ठप्प

जलसरोकार
बुधबार, वैशाख १९, २०८१ | १७:४७:३५ बजे

 

काठमाडौं– भारतले ६ महिनादेखि विस्फोटक पदार्थ आपूर्तिमा रोक लगाएपछि नेपालमा निर्माणाधीन तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरु निर्माण कार्य बन्द हुने अवस्थामा पुगेका छन् । चीन जोडिएका जलविद्युत् आयोजनामा भारतीय विस्फोटक पदार्थ आपूर्ति भयो भन्ने आशंकमा भारतले ६ महिनादेखि विस्फोटक पदार्थ आपूर्तिका लागि ‘नो अब्जेक्सन अर्डर- एनओसी’ (अनुमति) दिन बन्द गरेको हो । 
निर्माण भइरहेका आयोजनाहरुमा विस्फोटक पदार्थ अभावका कारण बन्द हुने अवस्थामा पुगिसक्दा पनि सरकारले भने केही थाहा नपाएजस्तो गरी बसेको छ । अहिलेसम्म परराष्ट्र मन्त्रालयले भारतीय दूतावासलाई आपूर्ति सहज गराउनका लागि पत्र लेख्नसमेत सकेको छैन । चिनियाँ कम्पनीले निर्माण गरेका, चिनियाँ ठेकेदार सामेल भएका, चिनियाँ यन्त्र÷उपकरण उपयोग गरेका आयोजनाहरुमा विस्फोटक पदार्थ ठ्याम्मै नदिने नीति लिएको भारतले भने चिनियाँ ठेकेदार र लगानी रहेका दक्षिण अफ्रिकी देशहरुमा सञ्चालित विभिन्न परियोजनालाई पनि विस्फोटक पदार्थ सहज रुपमा निर्यात गरिरहेको छ ।
भारतले चिनियाँ कम्पनीलाई लक्ष्यित गर्दै विस्फोटक पदार्थमा रोक लगाए पनि ती कम्पनीले निर्माण गरेका आयोजनाहरुमा यसको कुनै असर र प्रभाव भने परेको छैन । नेपाली जलविद्युत् प्रवद्र्धक र पूर्ण रुपमा नेपाली लगानीमा निर्माण भइरहेका आयोजनाहरु भने सबैभन्दा बढी मारमा परेका छन् । रामेछापमा ५७.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका अध्यक्ष टीएन आचार्यले एक महिना आयोजना निर्माण कार्य बन्द हुँदा चार महिनाको ब्याज ७२ करोड र बिजुली उत्पादन आम्दानी ६० करोड रुपैयाँ नोक्सान पर्ने बताए ।  

हालसम्म आयोजनाको निर्माण कार्य ७० प्रतिशतभन्दा बढी पूरा भइसकेको नुप्चे लिखुले पनि विस्फोटक पदार्थ अभाव झेलिरहेको आचार्यले बताए । 
उनका अनुसार सरकारी कम्पनी एचआइडीसीएल र ६ सय ५० जना सर्वसाधारणको शेयर रहेको नुप्चे लिखुले एक महिनामा ब्याज मात्र १८ करोड रुपैयाँ तिर्नुपर्छ । आयोजना निर्माणमा एक महिना ढिलाई हुँदा बिजुली बेचेर आम्दानी हुने मासिक १५ करोड रुपैयाँ पनि घाटा पर्छ ।  

भारतीय दुृतावासले विगत ६ महिनादेखि कुनै पनि आयोजनाका लागि विस्फोटक पदार्थ आयात गर्न अनुमति नदिएको ब्रम्हायणी हाइड्रोपावरका अध्यक्ष एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का सदस्य भरत पराजुलीले बताए ।  विस्फोटक पदार्थ आपूर्ति गर्ने एकीकृत व्यापार कम्पनीका अध्यक्षसमेत रहेका पराजुलीका अनुसार विस्फोटक पदार्थ अभावमा बन्द हुन लागेका आयोजनाहरुमा तनहुँ हाइड्रो (सोङ्दा–कालिका जेभीतर्फको खण्ड), मध्य मेवा (७३ मेगावाट), खिम्ती–२ (४८ मेगावाट), शिवा खोला (२१ मेगावाट), माथिल्लो तमोर (२८५ मेगावाट), तमोर–५ (२१ मेगावाट), सेती खोला (२२ मेगावाट), आँखु खोला (४३ मेगावाट), सीता हाइड्रो (३२ मेगावाट), लिपिङ खोला (१६ मेगावाट) लगायतका छन् । 
‘चिनियाँ कम्पनीहरु कार्यरत दक्षिण अफ्रिकी मुलुकका विभिन्न आयोजनामा भारतले विस्फोटक पदार्थ निर्यात गरिरहेको छ,’ पराजुलीले भने, ‘यसबाट भारतले चीनलाई पेलेको होइन, नेपालीलाई हो भन्ने देखिन्छ ।’ 

विस्फोटक पदार्थ अभावमा चलिरहेका यन्त्र रोकिने, ठेकेदारको दाबी भुक्तानी गर्नुपर्ने, हिउँदयाममा गर्नुपर्ने काम गर्न नपाएपछि आयोजना नै पर धकेलिने हुनाले यसमा प्रवद्र्धकहरुलाई करोडौं रुपैयाँ घाटा पर्ने पराजुली बताउँछन् । ‘एक हिउँदयाम रोकियो भने त्यो आयोजना कम्तीमा एक वर्ष ढिलो हुन्छ,’ उनी भन्छन् ।
 

प्रकाशित मिति : बुधबार, वैशाख १९, २०८१ | १७:४७:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया