वैदेशिक व्यापारमा ऐतिहासिक वृद्धि, तर व्यापार घाटा झनै बढ्यो
जलसरोकार
काठमाडौँ: गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार देशको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो परिमाण हो ।
भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरमा सीमित भएको छ। यसअनुसार व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ पुगेको छ। आयातमा १३.२५ प्रतिशत वृद्धि भएको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको छ। समग्र व्यापारमा १९.२४ प्रतिशतको वृद्धि भए पनि घाटा भने अझै बढेको देखिएको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार भारतसँग गरेको छ। भारतबाट १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको छ भने निर्यात २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँमा सीमित छ । यसरी भारतसँग मात्रै ८ खर्ब ४६ अर्ब ५१ करोड रुपैयाँ बराबरको घाटा देखिएको छ। चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात २६ अर्ब ३० करोड रुपैयाँ मात्र रहेको छ ।
नेपालले अफगानिस्तान, डेनमार्क, रसिया, रोमानिया, अस्ट्रिया, लाओस लगायतका केही मुलुकहरूसँग व्यापार नाफा गरेको विवरणमा उल्लेख छ । अफगानिस्तानसँग ६८ करोड ६१ लाख र डेनमार्कसँग ३३ करोड ८९ लाख रुपैयाँ नाफा भएको छ ।
सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यास प्रमुख छन्। अघिल्लो वर्ष डिजेलको आयात १ खर्ब २८ अर्ब ७६ करोड, पेट्रोलको ६४ अर्ब १२ करोड र एलपी ग्यासको ६२ अर्ब ५८ लाख रुपैयाँ बराबर रहेको छ । त्यस्तै, स्मार्टफोन ३५ अर्ब ५४ करोड र विद्युतीय सवारी साधन (ईभी) १८ अर्ब ६२ करोड रुपैयाँ बराबर आयात गरिएको छ ।
निर्यातमा पनि प्रशोधित खाद्य तेल अग्रस्थानमा छन्। सोयाबिन तेलको निर्यात १ खर्ब ६ अर्ब ७९ करोड र सूर्यमुखी तेलको निर्यात १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । साथै, अलैँची, चिया, छुर्पी, कार्पेट जस्ता परम्परागत वस्तुहरूको निर्यात पनि उल्लेखनीय रहेको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार नेपालले आयात गरेको कच्चा भटमास र सूर्यमुखी तेललाई प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ । यसबाट रोजगारी र मूल्य अभिवृद्धि खासै भएको छैन । साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट (साफ्टा) अन्तर्गत भारतले नेपाललाई दिँदै आएको भन्सार छुटको लाभ उठाउँदै प्रशोधित तेल निर्यात गरिएको हो ।
विगतमा पाम तेलको निर्यात प्रमुख रहँदै आएको भए पनि सन् २०२१ मा भारतले त्यसमा कडाइ गरेपछि सोयाबिन र सूर्यमुखी तेलको निर्यात बढेको हो । भन्सार विभागले दीर्घकालीन रुपमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमुखी उद्योग प्रवद्र्धन र मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ