वैदेशिक व्यापारमा ऐतिहासिक वृद्धि, तर व्यापार घाटा झनै बढ्यो
जलसरोकार
काठमाडौँ: गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार देशको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो परिमाण हो ।
भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरमा सीमित भएको छ। यसअनुसार व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ पुगेको छ। आयातमा १३.२५ प्रतिशत वृद्धि भएको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको छ। समग्र व्यापारमा १९.२४ प्रतिशतको वृद्धि भए पनि घाटा भने अझै बढेको देखिएको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार भारतसँग गरेको छ। भारतबाट १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको छ भने निर्यात २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँमा सीमित छ । यसरी भारतसँग मात्रै ८ खर्ब ४६ अर्ब ५१ करोड रुपैयाँ बराबरको घाटा देखिएको छ। चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात २६ अर्ब ३० करोड रुपैयाँ मात्र रहेको छ ।
नेपालले अफगानिस्तान, डेनमार्क, रसिया, रोमानिया, अस्ट्रिया, लाओस लगायतका केही मुलुकहरूसँग व्यापार नाफा गरेको विवरणमा उल्लेख छ । अफगानिस्तानसँग ६८ करोड ६१ लाख र डेनमार्कसँग ३३ करोड ८९ लाख रुपैयाँ नाफा भएको छ ।
सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यास प्रमुख छन्। अघिल्लो वर्ष डिजेलको आयात १ खर्ब २८ अर्ब ७६ करोड, पेट्रोलको ६४ अर्ब १२ करोड र एलपी ग्यासको ६२ अर्ब ५८ लाख रुपैयाँ बराबर रहेको छ । त्यस्तै, स्मार्टफोन ३५ अर्ब ५४ करोड र विद्युतीय सवारी साधन (ईभी) १८ अर्ब ६२ करोड रुपैयाँ बराबर आयात गरिएको छ ।
निर्यातमा पनि प्रशोधित खाद्य तेल अग्रस्थानमा छन्। सोयाबिन तेलको निर्यात १ खर्ब ६ अर्ब ७९ करोड र सूर्यमुखी तेलको निर्यात १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । साथै, अलैँची, चिया, छुर्पी, कार्पेट जस्ता परम्परागत वस्तुहरूको निर्यात पनि उल्लेखनीय रहेको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार नेपालले आयात गरेको कच्चा भटमास र सूर्यमुखी तेललाई प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ । यसबाट रोजगारी र मूल्य अभिवृद्धि खासै भएको छैन । साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट (साफ्टा) अन्तर्गत भारतले नेपाललाई दिँदै आएको भन्सार छुटको लाभ उठाउँदै प्रशोधित तेल निर्यात गरिएको हो ।
विगतमा पाम तेलको निर्यात प्रमुख रहँदै आएको भए पनि सन् २०२१ मा भारतले त्यसमा कडाइ गरेपछि सोयाबिन र सूर्यमुखी तेलको निर्यात बढेको हो । भन्सार विभागले दीर्घकालीन रुपमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमुखी उद्योग प्रवद्र्धन र मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने