हिमालयन पावर पार्टनरको रेटिङ सुधार, वैशाख १७ देखि हकप्रद निष्कासन
जलसरोकार
काठमाडौँ : हिमालयन पावर पार्टनर लिमिटेडको ऋण तिर्न सक्ने क्षमतामा सुधार देखिएको छ। हकप्रद शेयर निष्कासनको तयारी गरिरहेको कम्पनीको ‘इस्युअर रेटिङ’लाई केयर रेटिङ्स नेपाल ले परिमार्जन गर्दै ‘केयर एनपी डबल बी (Issuer)’ कायम गरेको छ, जुन यसअघि ‘डबल बी माइनस’ थियो।
नयाँ रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीले लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। पछिल्लो समय नाफा र नगद प्रवाहमा सुधार देखिएकाले रेटिङ उकासिएको केयर रेटिङ्सले जनाएको छ।
कम्पनीका सबल पक्षमा अनुभवी व्यवस्थापन टोली, वित्तीय कार्यसम्पादनमा सुधार र दीर्घकालीन विद्युत् खरिद सम्झौता उल्लेख गरिएको छ। कम्पनीको नेतृत्व गुरु प्रसाद ढकाल र अम्बिका प्रसाद ढकाल जस्ता अनुभवी व्यक्तिले गरिरहेका छन् भने मुख्य लगानीकर्तामा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ६० लाख रुपैयाँ थियो। ब्याज तिर्न सक्ने क्षमता पनि ०.९६ गुणाबाट बढेर १.९३ गुणा पुगेको छ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरण सँग ३० वर्षे विद्युत् खरिद सम्झौता भएकाले उत्पादित बिजुली बिक्री सुनिश्चित रहेको छ। सुक्खायाममा अपेक्षाभन्दा बढी ऊर्जा उत्पादन हुनुले आम्दानी बढ्ने संकेत देखिएको छ।
यद्यपि, कम्पनीले केही चुनौतीहरू पनि सामना गर्नुपर्ने देखिएको छ। प्रसारण लाइनको पूर्ण उपलब्धता नहुँदा हाल ‘कन्टिन्जेन्सी प्लान’ अन्तर्गत विद्युत बिक्री भइरहेको छ, जसले आम्दानीमा अनिश्चितता ल्याउन सक्छ। साथै, ‘रन–अफ–द–रिभर’ प्रकृतिको आयोजना भएकाले हिउँदमा पानीको बहाव घट्दा उत्पादन कम हुने जोखिम छ। बैंक ऋणको ब्याजदर परिवर्तनशील हुनु र बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम पनि चुनौतीका रूपमा रहेका छन्।
यसैबीच, कम्पनीले वैशाख १७ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गर्दैछ। हाल कायम एक कित्ता शेयर बराबर ०.५ कित्ताको अनुपातमा कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।
हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरिसकेको छ। चैत ९ गतेसम्म कायम शेयरधनीहरूले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रदबाट संकलित रकम प्राइम कमर्सियल बैंक को अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बाट लिएको सहवित्तीयकरण ऋण तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य