अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। अमेरिकाको वासिङ्टनडिसीमा भएको भेटवार्तामा भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणदेखि नेपालको बृहत् आर्थिक सुधारसम्मका विषयमा छलफल भएको छ।
विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटवार्ताका क्रममा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि स्रोत परिचालनबारे छलफल गरेका हुन्।
अर्थमन्त्री वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माणसँगै बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा विश्व बैंकका अध्यक्ष बाङ्गासँग छलफल गरेका छन्। अर्थमन्त्री वाग्लेको निजी सचिवालयका अनुसार भेटवार्तामा नेपालका तत्कालीन आवश्यकता र दीर्घकालीन आर्थिक सुधारका विषयलाई प्राथमिकतामा राखिएको थियो।
भेटका क्रममा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसासमेत गरेका छन्। अध्यक्ष बाङ्गाले नेपालमा पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
नेपालको विकास प्राथमिकतामा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने विषयमा पनि भेटवार्तामा छलफल भएको छ। अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगमलगायतका विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका छन्।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
भेटवार्ताले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसँगै नेपालको आर्थिक सुधार, सामाजिक संरक्षण र पूर्वाधार विकासमा विश्व बैंकको सहयोग तथा लगानीलाई थप विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसमेत सहभागी हुने गरी ऊर्जा विकासका समस्या समाधान गर्न समिति गठन
-
उपत्यकाको विद्युत् आपूर्ति बलियो बनाउँदै मातातीर्थ–चोभार १३२ केभी लाइन, निर्माण सकियाे
-
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै
-
नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्यो
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ