सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

जलसरोकार
बिहीबार, भदौ ११, २०८३ | १०:०२:२२ बजे

 

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ।

प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजनास्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनअनुसार उद्धार, स्थलगत निरीक्षण तथा विद्युत् पुनर्स्थापनाको कामलाई तीव्रता दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ।

टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायत सहभागी छन्।

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापनाको काम भइरहेको छ। खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ।

नुवाकोटका अन्य प्रभावित क्षेत्रमा पनि विद्युत् सेवा पुनर्स्थापनाका लागि स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणपछि ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ।

सोहीअनुसार चपली–देवीघाट ६६ केभी तथा बालाजु–त्रिशूली ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गर्ने कार्यका लागि प्राविधिक टोली फिल्डमा परिचालन गरिएको छ। प्राविधिक टोलीले विद्युत् सेवा पुनर्स्थापनाका लागि आवश्यक कामलाई तीव्रता दिएको छ।

भोटेकोशी बाढीका कारण उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापना चुनौतीपूर्ण बनेको छ। प्राधिकरणले उपलब्ध वैकल्पिक प्रणाली र प्राविधिक उपाय प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति : बिहीबार, भदौ ११, २०८३ | १०:०२:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया