साउनमा सरकारी राजस्व सङ्कलन १० प्रतिशतले बढ्यो
जलसरोकार
काठमाडाैं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनमा सरकारको कुल आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख पुगेको छ।
गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा यसपटक सरकारी आम्दानी करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले बढेको हो।
सरकारले साउनमा सबैभन्दा धेरै कर राजस्वबाट आम्दानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ रु ८५ अर्ब १९ करोड छ लाख सङ्कलन भएको छ। गैरकर राजस्वतर्फ रु सात अर्ब तीन करोड ४७ लाख प्राप्त भएको छ।
त्यस्तै, सरकारले पहिलो महिनामा रु २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता प्राप्त गरेको छ। चालु आर्थिक वर्षमा सरकारले कुल रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ।
राजस्व सङ्कलनमा सुधार देखिए पनि सरकारी खर्च भने तुलनात्मक रूपमा न्यून रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले रु ४१ अर्ब ८८ करोड ५८ लाख खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखको बजेट ल्याएको छ। साउनमा भएको खर्च वार्षिक बजेट विनियोजनको एक दशमलव ९७ प्रतिशत हो।
कुल बजेटमध्ये चालु खर्चतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन गरिएको छ। त्यसमध्ये साउन मसान्तसम्म रु २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ। यो वार्षिक विनियोजनको एक दशमलव ६८ प्रतिशत हो।
पुँजीगत खर्च भने अझै कमजोर देखिएको छ। पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन गरिएकोमा साउन मसान्तसम्म शून्य दशमलव ३१ प्रतिशत मात्र खर्च भएको छ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ। यो शीर्षकमा विनियोजित वार्षिक बजेटको चार दशमलव ५३ प्रतिशत हो।
यसरी चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनले सकारात्मक सुरुआत गरे पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको गति भने निकै सुस्त देखिएको छ। राजस्व वृद्धि र खर्चको अवस्थाबीच देखिएको ठूलो अन्तरले आगामी महिनामा विकास बजेट कार्यान्वयनको गति बढाउन सरकारमाथि दबाब थपिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना