१० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत, पुँजीगत खर्च अझै २८ प्रतिशतमा सीमित
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्ममा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्ला १० महिनामा सरकारले कुल ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हालसम्म कुल विनियोजनको ५९.७५ प्रतिशत खर्च भएको देखिएको छ ।
सरकारको चालुतर्फको खर्च भने तुलनात्मक रूपमा उच्च रहेको छ । चालु खर्चका लागि विनियोजन गरिएको ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये वैशाख मसान्तसम्म ८ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ६८.९८ प्रतिशत हो ।
तर, विकास खर्चको अवस्था भने कमजोर देखिएको छ । सरकारले पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेकामा हालसम्म १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल पुँजीगत बजेटको २७.९१ प्रतिशत मात्रै हो ।
वित्तीय व्यवस्थातर्फ भने ६५.३० प्रतिशत खर्च भएको छ । यस शीर्षकमा विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोडमध्ये हालसम्म २ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आम्दानीतर्फ पनि सरकार लक्ष्यभन्दा पछाडि देखिएको छ । चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म १० खर्ब १२ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो वार्षिक लक्ष्यको ६६ प्रतिशत हो ।
राजस्व असुली पनि अपेक्षाअनुसार हुन सकेको छैन । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, १० महिनामा ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ६६.६९ प्रतिशत हो ।
यस्तै, वैदेशिक अनुदान प्राप्ति पनि निकै न्यून देखिएको छ । सरकारले चालु आवमा ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा हालसम्म १७ अर्ब ७८ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ । यो लक्ष्यको ३३.२८ प्रतिशत मात्रै हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य