तीन दिनमै सुनचाँदीको मूल्यमा तीव्र उछाल, सुन तोलामा दुई लाख ७६ हजार नाघ्यो
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्लो तीन दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्य निरन्तर बढ्दै जाँदा सुनको मूल्य अहिलेसम्मकै उच्च तह नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो। त्यसयता निरन्तर वृद्धिसँगै आज थप बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्यमा पनि उस्तै वृद्धि देखिएको छ । आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप बढेर पाँच हजार ३४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
व्यवसायीहरूका अनुसार अमेरिकी डलरको विनिमय दरमा देखिएको उतारचढाव, विश्वव्यापी आर्थिक अनिश्चितता, मध्यपूर्व तथा अन्य क्षेत्रका भू–राजनीतिक तनाव, साथै सुरक्षित लगानीको रूपमा सुनप्रतिको बढ्दो आकर्षणले मूल्य वृद्धि भएको हो । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्ने गरेको उनीहरूको भनाइ छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ५८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यस्तै, सेतो धातु चाँदी प्रतिऔँस ८४ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
विश्लेषकहरूका अनुसार केन्द्रीय बैंकहरूको ब्याजदर नीतिमा अनिश्चितता, विश्वव्यापी मुद्रास्फीति नियन्त्रणको दबाब र लगानीकर्ताहरूको सुरक्षित सम्पत्तितर्फको झुकाव कायम रहेसम्म सुनचाँदीको मूल्य उच्च स्तरमै रहने सम्भावना छ। यसको असर विवाह तथा चाडपर्वको मौसममा सुनचाँदीको कारोबारमा समेत पर्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?