सुनचाँदीको मूल्यले निरन्तर कीर्तिमान तोड्दै, एकै दिन सुन प्रतितोला २० हजारभन्दा बढीले बढ्यो
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्ला केही दिनयता निरन्तर उकालो लागेको मूल्य आज पुनः तीव्र रूपमा बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुन एकै दिनमा २० हजार ५०० रुपैयाँले बढेको हो ।
त्यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँ रहेको थियो । तीन दिनको अवधिमा मात्रै सुन प्रतितोला करिब ३० हजार रुपैयाँले बढेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु चाँदी प्रतिऔँस १२० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ ।
किन बढ्दैछ सुनचाँदीको मूल्य ?
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अनिश्चितता, मध्यपूर्व र युरोप क्षेत्रको तनाव, अमेरिकी डलरको उतारचढाव तथा लगानीकर्ताहरूको सुरक्षित लगानीतर्फ आकर्षण बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन् । नेपालमा आयातमा आधारित बजार भएकाले अन्तर्राष्ट्रिय मूल्य बढ्नेबित्तिकै स्थानीय बजारमा समेत तीव्र प्रभाव पर्ने गरेको छ ।
उपभोक्ता र व्यवसायी दुवै प्रभावित
मूल्य अत्यधिक बढेसँगै सुनचाँदीको कारोबारमा कमी आएको व्यवसायीहरू बताउँछन् । विवाह, पर्व र सामाजिक कार्यक्रमका लागि गहना खरिद गर्ने उपभोक्ता प्रतीक्षामा बसेका छन् भने दैनिक कारोबार खुम्चिएको छ ।
व्यवसायीहरूका अनुसार यदि अन्तर्राष्ट्रिय बजारमा यही अवस्था कायम रहेमा आगामी दिनमा सुनचाँदीको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?