घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, विद्युत् बिक्री आम्दानीमा गिरावट
जलसरोकार
काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको आम्दानी घट्दा नोक्सानी बढेको छ।
कम्पनीले चैत मसान्तसम्म विद्युत् बिक्रीबाट ९ करोड ४४ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६२ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको थियो। यद्यपि, ब्याज आम्दानी घटेका कारण कुल आम्दानीमा दबाब परेको देखिन्छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ९ करोड ६६ लाख ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ११ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको सञ्चालन खर्च, प्रशासनिक खर्च तथा वित्तीय खर्च उच्च हुँदा नोक्सानी बढेको हो। चैत मसान्तसम्म कम्पनीले २ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत वर्ष सोही अवधिमा कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको वित्तीय खर्च ४ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने कर्मचारी सुविधा खर्च करिब ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, मूल्यह्रास तथा अमोर्टाइजेशन खर्च पनि उल्लेख्य रहेको वित्तीय विवरणमा उल्लेख छ।
चैत मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब २६ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ कायम छ भने जगेडा तथा बचत कोष २६ करोड २८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक १ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५ रुपैयाँ ७८ पैसा रहेको छ। प्रतिशेयर बजार मूल्य २५८ रुपैयाँ कायम रहेको कम्पनीले जनाएको छ।
व्यावसायिक विश्लेषणमा कम्पनीले घलेम्दी खोला जलविद्युत् आयोजनाको नियमित मर्मत सम्भार तथा विद्युत् उत्पादनसँग सम्बन्धित व्यवस्थापन खर्चका कारण नाफामा असर परेको जनाएको छ। कम्पनीले आगामी दिनमा लागत नियन्त्रण र सञ्चालन व्यवस्थापन सुधारमार्फत वित्तीय अवस्था सुदृढ बनाउने रणनीति लिएको उल्लेख गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य