सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

जलसरोकार
सोमबार, असार ०१, २०८३ | ०९:१५:३५ बजे

 

रौतहट : रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रको दशगजा वा त्यसको आसपास दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने व्यवस्था रहे पनि भारतीय पक्षले उक्त प्रावधानलाई बेवास्ता गर्दै बाँधमा माटो थपेर उचाइ र चौडाइ बढाएको आरोप लगाइएको छ।

स्थानीयवासीका अनुसार भारतको बिहार राज्यस्थित बैरगनिया क्षेत्रलाई बाढीबाट जोगाउन निर्माण गरिएको करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो रिङ बाँधका कारण नेपालतर्फको गौर नगरपालिका तथा आसपासका बस्तीहरू वर्षेनि डुबानमा पर्दै आएका छन्। स्थानीय अमित केशरीका अनुसार बाँधले बाढीको प्राकृतिक बहाव अवरुद्ध गर्दा गौरसहित दर्जनौँ गाउँमा पानी जम्ने समस्या दोहोरिँदै आएको छ।

भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रमा रहेको बाँधअन्तर्गतका तीनवटा सुलीसगेट बन्द गर्दै आएकाले लालबकैया र बाग्मती नदीको पानीको निकास अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ। यसले गर्दा वर्षायाममा नदीको पानी ‘ब्याक’ भएर नेपाली भूभागमा पस्ने र बस्ती डुबानमा पर्ने समस्या झनै बढेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए । 

उनका अनुसार पछिल्लो समय बाँधमा थप माटो हालेर संरचनालाई अझ बलियो बनाइएकाले आगामी वर्षायाममा सदरमुकाम गौर र आसपासका क्षेत्र थप जोखिममा परेका छन्। पानी निकास नहुँदा प्रत्येक वर्ष ठूलो मात्रामा धनजन तथा बालीनालीको क्षति हुने गरेको उनले बताए । 

स्थानीयवासीका अनुसार बाँध र सुलीसगेटको विषयलाई लिएर नेपालतर्फबाट विरोध हुने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीहरू हतियारसहित चौबीसै घण्टा बाँध क्षेत्रमा तैनाथ रहने गरेका छन्।

गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको सहमतिअनुसार सीमा क्षेत्रको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध, सडक वा अन्य अग्ला संरचना निर्माण गर्न नपाइने व्यवस्था रहेको बताउनुभयो। तर भारतले आफ्नो भूभागलाई डुबानबाट जोगाउने नाममा बाँधमा माटो थप्दै चौडाइसमेत बढाइरहेको उनकाे आरोप छ।

उनका अनुसार वाग्मती नदीदेखि पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्म फैलिएको करिब पाँच किलोमिटर लामो बाँधकै कारण गौर नगर क्षेत्र वर्षेनि डुबानको चपेटामा पर्दै आएको छ। विसं २०७७ मा आफू नगरप्रमुख रहँदा गौर नगरपालिका–२ महादेवपट्टीस्थित बकैया नदीमा तटबन्ध निर्माण गर्न खोज्दा भारतीय पक्षले अवरोध गरेको स्मरण गर्दै उहाँले अहिले भने भारतले मनपरी ढङ्गले बाँधको संरचना विस्तार गरिरहेको बताए । 

यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकालमा भारतीय पक्षले बाँधमा माटो थप्न खोज्दा नेपालका प्रशासनिक तथा सुरक्षा निकायले आपत्ति जनाएपछि काम रोकिएको थियो। तर पछिल्लो समय पुनः बाँधको मर्मतका नाममा संरचना विस्तार गरिएको स्थानीयको भनाइ छ।

यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाका जिल्ला अधिकारी (डीएम) रुचि पाण्डेसँग यस विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए । उनका अनुसार भारतीय पक्षले केन्द्रीय सरकारको निर्देशनअनुसार बाँध मर्मतको काम भइरहेको जानकारी दिएको छ।

सीमा व्यवस्थापन र अन्तरराष्ट्रिय सन्धिसँग सम्बन्धित विषय भएकाले नेपाल सरकारले कूटनीतिक माध्यमबाट स्थायी समाधान खोज्नुपर्ने माग स्थानीय तथा राजनीतिक नेतृत्वले गर्दै आएका छन्। विगतमा मधेस प्रदेशका मुख्यमन्त्रीहरूले समेत केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए।

भारतीय पक्षले निर्माण गरेको बाँधका कारण रौतहटको राजदेवी नगरपालिकाअन्तर्गत बेलबिछुवा, ब्रह्मपुरी, लक्ष्मीपुर, गौर नगरपालिकाका नौवटै वडा तथा ईशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जराहा गाउँ वर्षेनि डुबानमा पर्ने गरेका छन्। स्थानीयका अनुसार प्रत्येक वर्ष आउने बाढीले करोडौँ रुपैयाँ बराबरको धनजन तथा कृषि उत्पादनमा क्षति पुर्‍याउँदै आएको छ।

 

प्रकाशित मिति : सोमबार, असार ०१, २०८३ | ०९:१५:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया