म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण


म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।
मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो ।
आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए ।
बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।
बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताए ।
निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा रु ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ ।
रु ७० लाख बजेट विनियोजन भएको बेनी–४ सिङ्गा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि रु छ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ ।
तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तरगत म्याग्दी नदी किनारमा एक सय दुई मिटर कम्पोजिट पर्खाल निर्माणका लागि रु तीन करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ ।
कुश्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा रु पाँच करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
उक्त योजनामार्फत दुवै स्थानमा ४८/४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको कालीपुल पारी जलजला गाउँपालिका– ३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि रु दुई करोड ८० लाख लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
‘टेक एण्ड पे’मा पुनःविचार गर्न सांसदको माग
-
कृषिमा विशिष्टीकृत वित्तीय संस्था आवश्यक छ : डा. युवराज खतिवडा
-
आज देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानहरूमा वर्षाको सम्भावना
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
-
यस्तो थियो दोस्रो योजना (२०१९–२०२३) कालमा नेपालको विद्युत् अवस्था
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा