सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक विराजभक्त श्रेष्ठ नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने

जलसरोकार
सोमबार, चैत २३, २०८२ | ०९:२३:२५ बजे

 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गर्दै शुक्रबार बजार खुला गर्ने निर्णय गरेको हो।

हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार कायम राख्ने गरी शुक्रबार बजार सञ्चालन गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार अब आइतबार शेयर बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार हुनेछ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत Chudamani Chapagain ले ‘मेरो लगानी’सँग कुरा गर्दै सञ्चालक समिति बैठकबाट शुक्रबार कारोबार सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म रहनेछ र सोही दिन शेयर कारोबार पनि सञ्चालन गरिनेछ।

नेप्सेले शुक्रबार कारोबार सञ्चालन गर्ने यो पहिलो अनुभव भने होइन। यसअघि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि पनि नेप्सेले शुक्रबार बजार सञ्चालन गरेको थियो। त्यसबेला सातामा पाँच दिन (सोमबारदेखि शुक्रबारसम्म) कारोबार भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो।

हालै मन्त्रिपरिषद् बैठकले बढ्दो इन्धन खपत तथा वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका लागि आइतबार सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेप्सेले लगानीकर्ताको हित तथा बजारको सक्रियतालाई ध्यानमा राख्दै शुक्रबार बजार सञ्चालन गर्ने तयारी गरेको हो।

नेप्सेका सञ्चालकहरूका अनुसार विगतमा शुक्रबार बजार सञ्चालन गरेको अनुभव भएकाले आवश्यक प्रक्रिया पूरा गरी कारोबार सुरु गर्न कुनै प्राविधिक समस्या नआउने विश्वास गरिएको छ। हाल शुक्रबार र शनिबार बन्द हुँदै आएको शेयर बजार अब भने नयाँ व्यवस्था अनुसार शनिबार र आइतबार बन्द रहनेछ।

प्रकाशित मिति : सोमबार, चैत २३, २०८२ | ०९:२३:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया