ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौंको बाढी र चोभारको गल्छी

गोविन्द शर्मा पोखरेल
शुक्रबार, असार १३, २०८२ | ११:५६:५७ बजे
तस्वीर सौजन्य : डा मतिप्रसाद ढकाल

आजकल काठमाडौंको एक वृत्तमा “काठमाडौंमा भीषण बाढी आएमा चोभारको गल्छीले बाढीको निकास तुरुन्त गर्न सक्छ कि सक्दैन?” भन्ने विषयमा चर्चा परिचर्चा भइरहेको पाइन्छ। वास्तवमा सतही रूपमा हेर्दा, यदि चोभारको गल्छीबाट बाढीको पानी तुरुन्त निकास हुन सकेन भने, गल्छीको माथिल्लो भाग डुबानमा पर्न सक्ने देखिन्छ। त्यस डुबानले गल्छीदेखि कति दूरीसम्म प्रभाव पार्न सक्छ भन्ने कुरा अनुमान गर्नु चाखलाग्दो देखिन्छ। तर, जतिसुकै ठूलो बाढी आए पनि, वा जतिसुकै समयसम्म चोभारको गल्छी थुनिए पनि, त्यस कारण काठमाडौंमा बाढी आउने सम्भावना छैन। चोभारको गल्छी थुनिँदा काठमाडौंमा बाढी आउँछ भन्ने कुरा प्रमाणसहित पुष्टि हुन सक्दैन। यो कुरा निश्चित रूपमा भन्न सकिन्छ। यसबारे अन्यथा टिप्पणी गर्ने व्यक्तिले या त चोभारको गल्छी देखेका छैनन्, वा काठमाडौंको भौगोलिक बनावटबारे राम्रो जानकारी छैन।

काठमाडौंमा बाढीको प्रसङ्ग उठेपछि पहिलो कुरा—यहाँका आधुनिक समयमा आएका ठूला बाढीहरूलाई सम्झनु, वा तिनबारे चर्चा गर्नु आवश्यक हुन्छ। दोस्रो कुरा, काठमाडौंमा बाढी ल्याउने वर्षाको परिमाणबारे पनि चर्चा गर्नु जरुरी देखिन्छ। तेस्रो कुरा, सामान्य अवस्थामा चोभारको गल्छीबाट कति ठूलो बाढीसम्म तत्काल निकास हुन सक्छ भन्ने विषय पनि विश्लेषणको केन्द्रमा पर्नु पर्दछ। मैले चोभारको गल्छीबाट निकास हुने बाढीको पानीको परिमाण मात्रको कुरा गरेको होइन, तत्काल निकास हुन सक्ने बाढीको क्षमताबारे कुरा गरेको हुँ। यहाँ कुराको सार यो हो कि यदि बाढीको पानी चोभारको गल्छीबाट तुरुन्तै निकास हुन सक्छ भने, त्यस अवस्थामा गल्छीको माथिल्लो भागमा नदी जलमग्न भएर डुब्ने अवस्था सिर्जना हुँदैन।

अब कुरा सुरु गरौं, पहिलो बुँदाबाटै:

पहिलो कुरा: काठमाडौंका आधुनिक समय (विगत ५० वर्ष) का भीषण बाढीहरू

काठमाडौं र वरपरका इलाकामा विगत ५० वर्षमा करिब पाँच पटक भीषण बाढी आएको स्मरण गर्न सकिन्छ। तीमध्ये पहिलो उल्लेखनीय बाढी वि.सं. २०३८ सालको घटस्थापनाको राति देखि घटस्थापनाको बिहानीसम्म आएको थियो।

यस बाढीका कारण ललितपुरको लेले खोलाले र थानकोट खोलाले मानिस बगाएको समाचार सार्वजनिक भएको थियो। त्यो समयमा काठमाडौं उपत्यकामा कति मिलिमिटर पानी परेको थियो भन्ने स्पष्ट तथ्याङ्क अहिले मेरो साथमा छैन। तर, पधेरेदोभान (वागमती सिँचाइ योजनाको हेडवर्क्स नजिक) मा नापिएको बहावका आधारमा तयार गरिएको अभिलेखले देखाउँछ कि यो घटना काठमाडौंमा अहिलेसम्म मापन गरिएका करिब १० वटा प्रमुख बाढीमध्ये एक थियो।

जसको विशेषता के थियो भने, त्यस समयसम्म कुलेखानी ड्याम पूरा भइसकेको थियो, र कुलेखानी खोला हुँदै वागमतीमा मिसिने ठूलो मात्रामा पानी उच्च बाँधद्वारा थुनिएको थियो। त्यसैले उक्त बाढीको मुख्य स्रोत उपत्यकाभित्रकै तीव्र वर्षा नै थियो भन्ने बुझ्न सकिन्छ। त्यस बाढीका सम्बन्धमा, कुलेखानीको बाँधस्थलमा सो बाढीको बहाव करिब ३६० क्युमेक्स भएको अनुमान गरिएको थियो, जुन अनुमान म स्वयं सहभागी प्राविधिक टोलीद्वारा गरिएको थियो।

यसपछिको अर्को भीषण बाढी वि.सं. २०५० सालको साउन महिनामा आयो। यद्यपि यो बाढी काठमाडौं उपत्यका भित्र त्यति विनाशकारी भएन, उपत्यकाका वरपरका क्षेत्रहरू—विशेषतः वागमती नदीको जलाधार क्षेत्रमा पर्ने थुप्रै स्थानहरूमा—अत्यन्तै भयावह थियो।

यस बाढीले कुलेखानी जलाशय (इन्द्र जलाशय) को ठूलो हिस्सा गेरुग्राभ (silt/clay sediment) ले पुरिएको थियो, जसका कारण जलाशयको उपयोगिता र सञ्चयन क्षमतामा उल्लेखनीय असर परेको थियो। पधेरेदोभानमा उपलब्ध आँकडा र त्यसबेलाको अनुमानका आधारमा वि.सं. २०५० सालको साउनको बाढीको अधिकतम बहाव करिब १५,000 क्युमेक्स रहेको थियो। यस बाढीको मूल कारण काठमाडौं वरपरका क्षेत्रहरूमा परेको अत्यधिक वर्षा थियो। सो मूसलधारे वर्षा काठमाडौंबाट करिब २० किलोमिटर टाढा पर्ने टिष्टुङ्ग भन्ने स्थानमा नापिएको थियो, जहाँ ५४० मिलिमिटर वर्षा भएको तथ्याङ्कले देखाउँछ। नेपालमा अहिलेसम्म अधिकृत रूपमा नापिएको वर्षामध्ये टिष्टुङ्गमा मापन गरिएको यो परिमाण सबैभन्दा उच्च हो भन्ने कुरा उपलब्ध तथ्याङ्कहरूले पुष्टि गर्छन्।

यो भन्दा उच्च परिमाणको वर्षा हालै मात्र—वि.सं. २०८१ सालमामहाकाली अञ्चलको कञ्चनपुर जिल्लामा मापन गरिएको छ, जहाँ ६२४ मिलिमिटर वर्षा नापिएको थियो।

त्यसैले, काठमाडौंको बाढीको सन्दर्भमा चर्चा गर्दा वि.सं. २०५० सालमा टिष्टुङ्गमा मापन गरिएको २४ घण्टाको वर्षा (५४० मिमी) लाई आधार मानेर, जलवायु परिवर्तनका सम्भावित प्रभावहरू समेत समेटी, भविष्यमा आउन सक्ने अत्यधिक बाढीको सम्भावनालाई ध्यानमा राखेर सुरक्षित तवरमा पूर्वानुमान (आंकलन) गरिनु आवश्यक देखिन्छ।

त्यसैअनुसार, बाढी व्यवस्थापनका योजना, पूर्वतयारी, र संरचनागत उपायहरू तय गरिनु पर्दछ।

यस सन्दर्भमा, काठमाडौं उपत्यकामा भूमिको प्रयोगमा तीव्ररूपमा बढिरहेको कन्क्रिटको अनुपात (जसले वर्षा पानीको प्राकृतिक शोषण क्षमता घटाउँछ) लाई पनि वैज्ञानिक ढंगले मूल्याङ्कन गर्नु अत्यावश्यक छ। नदी किनार, सहरी योजनाहरू, र नाली/ढल व्यवस्थापन प्रणाली समेतलाई समन्वित रूपमा हेरी, दीर्घकालीन बाढी जोखिम न्यूनीकरणको दिगो रणनीति बनाउनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ।

त्यसैगरी, वि.सं. २०५९ सालमा आएको भीषण बाढी, २०६८ सालको ठूलो वर्षाका कारण आएको बाढी, र वि.सं. २०८१ साल असोज ११ देखि १३ गतेसम्म, विशेषगरी १२ गते काठमाडौंको दक्षिणी भागमा मापन गरिएको ३६० मिमी वर्षाका कारण वागमती नदीमा आएको ठूलो बाढीलाई स्मरण गर्न चाहन्छु।

सो समयमा वागमती नदीको निकासमा मापन गरिएको अधिकतम बहाव करिब १,१५० क्युमेक्स रहेको तथ्याङ्कहरूले देखाउँछन्। यस बाढीलाई औसतमा करिब ९२ वर्षमा एक पटक आउने बाढी (९२ वर्ष आवृत्तिको बाढी) को रूपमा गणना गरिएको छ। नख्खु खोलामा समेत आएको यस बाढीको मुख्य कारण ललितपुर क्षेत्रमा परेको भीषण वर्षा मात्र नभई, सो क्षेत्रमा अव्यवस्थित रूपमा फालिएका ढुंगा खानीका डेब्री (गेगर) पनि थिए। नख्खु खोला वागमतीमा मिसिने स्थान नजिकै आएको विपदको मूल कारण यही हो। बाढीको समयमा उक्त स्थानमा नेपाल सरकारको शून्य उपस्थिति रहेको कुरा भन्नु वास्तविकता भन्दा धेरै टाढा लाग्दैन।

माथि उल्लेखित सबै ठूला र भीषण बाढीहरूको मुख्य कारण मूसलधारे वर्षा नै हो। तर, केवल मूसलधारे वर्षा मात्रले भिषण बाढी आएको होइन। यसमा मानवजन्य कारणहरूको समेत ठूलो योगदान देखिन्छ।

काठमाडौंमा कति पानी पर्दछ?

सालाखालासहित वर्षातको समयमा काठमाडौंमा वार्षिक वर्षा करिब १३०० देखि १६०० मिलिमिटर सम्म हुने गरेको सामाजिक सञ्जालमा पाइने तथ्यांकहरूबाट देख्न सकिन्छ। मेरो हिसाबमा, काठमाडौं खाल्डोलाई घेर्ने पर्वतमालाहरूमा वार्षिक सालाखाला करिब २००० मिमी वर्षा हुने गर्दछ। जबकि खाल्डोको तलको समतल भागतिर वार्षिक सालाखाला करिब १३५० मिमी वर्षा हुन्छ। यसमा करिब ८० प्रतिशत वर्षा वर्षातको समयमा हुने हुँदा, खाल्डो वरिपरिका पहाडहरूमा वार्षिक सालाखाला करिब १६०० मिमी वर्षा र तलको भागमा वार्षिक सालाखाला करिब १०८० मिमी वर्षा हुने अनुमान गर्न सकिन्छ। यस हिसाबले, काठमाडौंमा सालाखाला वर्षातको समयमा करिब १४५० मिमी वर्षा हुन्छ। तर, वर्षाको परिमाण सालाखाला उस्तै भए तापनि, बेला-बेला स्थान विशेषमा पर्ने हांडीघोप्टे पानीका कारण पहिरो जाने लगायतका विभिन्न भौगर्भिक प्रक्रियाहरूले पानीसँग मिसिने माटो तथा गेग्र्यानले भूक्षय र भूस्खलन गर्ने क्षमता व्यापक रूपमा वृद्धि गर्छ।

यसका साथै, नदीका दोभानहरूमा यसरी ल्याइएको गेग्र्यान थुप्रिन खोज्ने प्राकृतिक प्रक्रिया हुन्छ। त्यसैले, पोहोर साल असोज महिनामा नख्खु खोला तथा वागमती नदीको नख्खु दोभानमा आएको बाढी, प्रत्येक वर्षातमा कहिले कुनै एक नदीमा, कहिले अर्को नदीमा दोहोरिँदै रहन सक्ने प्राकृतिक घटना हो।

पोहोर साल ३६० मिमी वर्षाले यहाँ यत्रो विनाश गर्न सक्ने बाढी ल्यायो भने, २०५० सालमा टिष्टुङ्गमा परेको त्यति ठूलो वर्षा भए काठमाडौँका नदीहरूले कस्तो विकराल रूप लिन सक्थे होला?

अझ, काठमाडौँ खाल्डोमा सालसालै वृद्धि हुँदै गएको अव्यवस्थित विकास (कुविकास)का कारण जमिनले पानी सोस्ने क्षेत्रफल घट्दै गएको छ। यसले गर्दा विगतमा त्यति वर्षा हुँदा आएको बाढीको तुलनामा भविष्यमा आउन सक्ने बाढीको क्षमता व्यापक रूपमा वृद्धि हुने सम्भावना छ।

यसको मतलब, नदी किनारका बस्तीहरूमा बाढीको जोखिम सालसालै बढ्दैछ। यदि वस्ती विकासमा यो कुरा राम्रोसँग ध्यान दिइएन भने, काठमाडौंबासीले आफैँले विपदलाई निम्तो दिएको जस्तो अवस्था उत्पन्न हुन सक्छ।

अब कुरा गरौं चोभारको गल्छीको बारेमा — सो गल्छीबाट तत्काल निकास हुन सक्ने बाढीको परिमाण र यस गल्छीका कारण काठमाडौंमा बाढी आउने सम्भावनाका विषयमा।

मेरो विचारमा, चोभारको गल्छी करिब १८–२० मिटर चौडा छ। यस गल्छीको तल्लो भागमा केही साना र ठूला बोल्डर (ठूला ढुंगा) रहेका छन्। चोभारको गल्छीबाट पानी बग्दा, यसको बाङ्गो-टिङ्गो आकारका कारण बाढीको गति (भेलोसिटी)मा करिब ३०–३५ प्रतिशतसम्म गिरावट आउन सक्ने सम्भावना हुन्छ।

यदि गल्छीको प्रवेश बिन्दुमा करिब ५ मिटर गहिरो पोखरी बनेको खण्डमा, गल्छीभित्र बाढीको गति करिब ७ मिटर प्रति सेकेन्ड हुने अनुमान गर्न सकिन्छ। साथै, करिब १०० वर्ग मिटरको क्रस सेक्शन बाट बाढी निकास हुँदा, सो बाढीको परिमाण करिब ६५०–७०० क्युमेक्स हुन सक्ने सम्भावना छ।

तर, यदि पोखरीको सतह १० मिटर गहिरो भएमा, माथि उल्लेख गरिएजस्तै बाढीको गति करिब १० मिटर प्रति सेकेन्ड पुग्नेछ। यस अवस्थामा करिब २,००० क्युमेक्स सम्मको बाढीको तत्काल निकास सम्भव हुने देखिन्छ। मेरो विचारमा, चोभारको वस्ती नदी किनारबाट करिब ३० मिटर माथि अवस्थित भएकाले, चोभारको गल्छीमा करिब २,००० क्युमेक्स सम्मको बाढी आए पनि काठमाडौंबासीले चिन्तित हुनुपर्ने अवस्था देखिँदैन।

माथि उल्लेखित १,१५० क्युमेक्स को बाढी औसतमा करिब ९२ वर्षको अन्तरालमा दोहोरिने परिमाणको भएकाले, २,००० क्युमेक्सको बाढी वर्तमान अवस्थामा आउन असम्भवजस्तो देखिन्छ।

तर, काठमाडौंको बढ्दो कुविकास का कारणले गर्दा ५० वर्षपछि कस्तो विकृत अवस्था आउँछ भन्ने कुरा अनुमान लगाउन गाह्रो छ। त्यसैले, माथि जे भनिएको भए पनि, नदी किनारमा बस्नेहरूलाई चोभार गल्छीका कारण होइन, तर समग्रमा केही सतर्कता अपनाएर बस्नु नै सबैको कल्याणका लागि हितकारी हुने देखिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : शुक्रबार, असार १३, २०८२ | ११:५६:५७ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया