बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा ठूलो क्षति
जलसरोकार
पाँचथर : अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा व्यापक क्षति पुर्याएको छ । पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेपछि स्थानीय जनजीवन प्रभावित बनेको छ ।
याङवरक गाउँपालिका–१ लम्बाखोलामा पहिरोले घर बगाउँदा मोहनलाल खवास, कबिर खवास र कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएका छन् । मोहनलाल र कबिर खवासका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गङ्गाप्रसाद बेघाको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा सरेको छ ।
त्यसैगरी, सोही स्थानका भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि उहाँको परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा मगरडाँडाका गरी दर्जनौँ परिवारका घर जोखिममा परेका छन् । स्थानीय प्रशासनका अनुसार निरन्तर वर्षा भइरहेकाले थप क्षतिको जोखिम बढेको छ ।
बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ भने याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलसमेत प्रभावित भएको छ । साथै निर्माणाधीन दुई वटा सडक पुल बगाउँदा यातायात सेवा पूर्णरूपमा अवरुद्ध बनेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेमा मेवा खोलामाथि निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको प्रहरीले जनाएको छ । पुलसँगै सडक र डाइभर्सनसमेत बगाएपछि उक्त खण्डमा सवारी आवागमन ठप्प भएको छ ।
त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमामा निर्माणाधीन लिम्बूनी पुलमा समेत ठूलो क्षति पुगेको छ । बाढीले पुल निर्माणमा प्रयोग हुँदै आएका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको प्रहरीको भनाइ छ ।
यता, पहिरो झरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ ।
बाढी र पहिरोले जलविद्युत् आयोजनामा पनि असर पुर्याएको छ । याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खालमा क्षति पुगेको जनाइएको छ । अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्याएको छ ।
यसैबीच, याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ ।
बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालमै बनेको कन्डक्टर भारत निर्यात : बदलिँदै औद्योगिक दिशा
-
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
-
मेगावाटको गर्व, गुणस्तरको शून्यता
-
सुन र चाँदीको मूल्यमा घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
रानीजमरा कुलरिया सिँचाइ आयाेजनाबाट उत्पादित बिजुलीको हिसाब छैन, रकम असुल गर्न महालेखाको सुझाव
-
बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा ठूलो क्षति