बाढीले क्षतिग्रस्त बीपी राजमार्ग शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी
जलसरोकार
काठमाडौं : गत साताको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक (डाइभर्सन) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शनिबार बिहानदेखि राजमार्गमा सवारी सञ्चालन सुरु गर्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ट्रयाक खोलिसकिएको छ । उनले आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक खोल्ने योजना रहेको बताए ।
“ट्रयाक खोलिसकेपछि केही सवारीमार्फत परीक्षण गरी शनिबार बिहानदेखि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ,” इन्जिनियर योगेशले बताए ।
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि डाइभर्सन निर्माण सुरु गरिएपछि बिहीबार रातिसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरी अस्थायी सडक निर्माण गरिएको कार्यालयले जनाएको छ ।
हाल रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । “ट्रयाक खुलेपछि घुम्ती र साँघुरा स्थानमा थप मर्मत आवश्यक देखिन्छ, आज साँझसम्म सडक खोल्ने काम पूरा हुनेछ,” योगेशले बताए ।
बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पु¥याएको थियो । गत वर्ष पनि सोही क्षेत्रमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । उनले राति काम गरेर भए पनि आज बेलुकासम्ममा सवारी सञ्चालन हुनेगरी काम पूरा गर्न आग्रह गरेका थिए ।
कार्यालयका अनुसार राजमार्गको स्थायी पुनर्निर्माणका लागि चारवटा खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ । पूर्वी नेपालसँग काठमाडौंलाई जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी