बाढीले क्षतिग्रस्त बीपी राजमार्ग शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी
जलसरोकार
काठमाडौं : गत साताको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक (डाइभर्सन) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शनिबार बिहानदेखि राजमार्गमा सवारी सञ्चालन सुरु गर्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ट्रयाक खोलिसकिएको छ । उनले आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक खोल्ने योजना रहेको बताए ।
“ट्रयाक खोलिसकेपछि केही सवारीमार्फत परीक्षण गरी शनिबार बिहानदेखि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ,” इन्जिनियर योगेशले बताए ।
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि डाइभर्सन निर्माण सुरु गरिएपछि बिहीबार रातिसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरी अस्थायी सडक निर्माण गरिएको कार्यालयले जनाएको छ ।
हाल रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । “ट्रयाक खुलेपछि घुम्ती र साँघुरा स्थानमा थप मर्मत आवश्यक देखिन्छ, आज साँझसम्म सडक खोल्ने काम पूरा हुनेछ,” योगेशले बताए ।
बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पु¥याएको थियो । गत वर्ष पनि सोही क्षेत्रमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । उनले राति काम गरेर भए पनि आज बेलुकासम्ममा सवारी सञ्चालन हुनेगरी काम पूरा गर्न आग्रह गरेका थिए ।
कार्यालयका अनुसार राजमार्गको स्थायी पुनर्निर्माणका लागि चारवटा खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ । पूर्वी नेपालसँग काठमाडौंलाई जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली