तनहुँमा बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षति, आवतजावतमा समस्या
जलसरोकार
तनहुँ : असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा सडक, पुल, कल्भर्ट, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षी क्षेत्रमा क्षति पुर्याएको छ। बाढीले जिल्लाका पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। एउटा पक्की पुल र दुई वटा कल्भर्टमा समेत क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ। स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा आवश्यक प्रक्रिया पूरा गरी तत्काल काम अघि बढाउन अनुरोध गरिएको उनले बताए ।
बाढीले घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै, घिरिङ–१ को अत्रौलीबाट कासिवन जोड्ने पुल, घिरिङ–४ को मण्डारबाट नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत खरसङघाट जोड्ने पुल तथा सोही वडाको करुवाटारबाट माइतीघाट–मचेडी जोड्ने पुलमा पूर्ण क्षति पुगेको छ। देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। यी पुलको पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ।
यसैगरी, बाढीले तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुर्याएको छ। घिरिङ–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने पुट्टारघाट–स्याउलीबजार पुल तथा घिरिङ–४ र नवलपुरको बौदीकाली जोड्ने जगौलीटार–थोत्रेनी पुलमा क्षति पुगेको छ। देवघाट–१ र नवलपुरको गैँडाकोट नगरपालिका–३ जोड्ने झोलुङ्गे पुलको लठ्ठा, स्ल्याब तथा जालीमा समेत क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । यी पुलको मर्मत तथा सुरक्षित आवागमनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
बाढीका कारण घिरिङ–४ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी मण्डार–खरसङघाट पक्की पुलमा पनि आंशिक क्षति पुगेको छ। पुलको मर्मत तथा पुनर्निर्माणका लागि सडक विभाग, बबरमहल र सडक डिभिजन कार्यालय दमौलीमा सिफारिस गरिएको छ।
त्यस्तै, भिमाद नगरपालिका–४ स्थित सिंहाले कल्भर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घिरिङ गाउँपालिका–४ स्थित तिरन्दी खोला कल्भर्टमा आंशिक क्षति पुगेको छ। दुवै संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ।
पुल तथा कल्भर्ट क्षतिग्रस्त भएपछि नदी र खोला वारपार गर्ने स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ। कतिपय स्थानमा विद्यार्थीसमेत प्रभावित भएका छन्। प्रमुख जिल्ला अधिकारी तिवारीले बाढीबाट क्षति पुगेका सडक, पुल, भवन तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो
-
मातातीर्थ-स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, दुई दिन विद्युत् आपूर्तिमा असर पर्न सक्ने
-
प्रसारण शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न इप्पानको माग
-
तनहुँमा बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षति, आवतजावतमा समस्या
-
बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, तरलताको चाप अझै उच्च