अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङबीच भेटवार्ता
४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, चीनको सहयोगमा सञ्चालनमा रहेका र आगामी दिनमा सञ्चालन गरिने परियोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
द्विपक्षीय भेटपछिको औपचारिक कार्यक्रममा चार वटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो।
चितवनस्थित वि. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर निर्माणसम्बन्धी परियोजना तथा निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। ती दुवै समझदारीमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे।
भरतपुरस्थित उक्त अस्पतालमा करिब १८३४ वर्ग मिटर क्षेत्रफलमा बोनम्यारो उपचार केन्द्र निर्माण गरी आवश्यक चिकित्सकीय उपकरण जडान गरिनेछ। यसले बोनम्यारो क्यान्सर उपचारमा उल्लेखनीय सहयोग पुग्नेछ। निजामती अस्पतालको सम्भाव्यता अध्ययनले सरकारी स्वास्थ्य सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ।
यही अवसरमा नेपाल र चीनबीच मानव संसाधन विकाससम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर भयो। उक्त समझदारीअनुसार १२७० जना सरकारी कर्मचारीले चीनका विभिन्न संस्थाहरूद्वारा आयोजित द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा सहभागी हुने अवसर पाउनेछन्, जसले कर्मचारीको क्षमता अभिवृद्धिमा टेवा पुर्याउनेछ।
त्यस्तै, रसुवागढी-केरुङ सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे। यसबाट ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढ्नेछ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल-चीनबीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै सिड्का अध्यक्षलाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिए। उनले उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
अर्थसचिव उपाध्यायले नेपाल-चीन सम्बन्धको महत्त्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य सेवा, मानव संसाधन विकास तथा सीमापार विद्युत व्यापारमा योगदान पुर्याउने बताउँदै त्यसबाट नेपाली जनतालाई प्रत्यक्ष लाभ हुने धारणा राखे। साथै, भविष्यमा पूर्वाधार निर्माणमा चीनको तर्फबाट थप सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे।
बाढीले क्षति पुर्याएको संरचनाको पुनर्निर्माणमा चीनको सहयोग प्रतिबद्धता
रसुवा जिल्लामा बाढीले क्षति पुर्याएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
अर्थमन्त्रीसँगको भेटवार्तामा सिड्का अध्यक्ष सियाओदोङले ती संरचनाको पुनर्निर्माणमा आवश्यक सहयोग पुर्याउने र भन्सार प्रक्रियालाई छिटो सञ्चालन हुने गरी काम गरिने जानकारी दिए।
अध्यक्ष सियाओदोङले बाढीपछि नेपाल सरकारद्वारा उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीमा देखाइएको सक्रियता र सहयोगप्रति धन्यवाद प्रकट गरे।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै चीनको तत्परता, चासो र प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरे।
"आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले पुनर्निर्माण कार्यलाई यथासक्य छिटो अघि बढाउनेछौं," भन्दै अर्थमन्त्रीले चीनसँग सहकार्यका लागि आभार व्यक्त गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा ऐतिहासिक वृद्धि, तर व्यापार घाटा झनै बढ्यो
-
रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा सदस्यको नियुक्ति, समृद्धिको दिशामा रणनीतिक खाका तयार गर्ने प्रतिबद्धता
-
“विपी कोइरालाको विचार आज पनि मार्गदर्शक” : ऊर्जामन्त्री खड्का
-
मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधानका लागि संघीयमन्त्रीहरुबीच छलफल
-
कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
-
विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रमा पुनः घोष