धारै मोडेर कालीगण्डकी दोहन, मापदण्डविपरीत उत्खननले नदी सङ्कटमा
जलसरोकार
बागलुङ : आफ्नै गतिमा बग्दै आएको कालीगण्डकीको धार नै परिवर्तन गरेर बागलुङ क्षेत्रमा नदीजन्य पदार्थको दोहन गरिएको पाइएको छ।
बर्खायाममा मध्यरातमा समेत दोहन हुँदै आएको कालीगण्डकी नदीमा हिउँदमा भने नदीको धार नै परिवर्तन गरी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको स्थानीयले बताएका छन्। बागलुङ नगरपालिका–१३ कालाखोला को बगर क्षेत्रमा नदीलाई पर्वत जिल्लातर्फ फर्काएर ठूलो मात्रामा नदीजन्य पदार्थ निकालिएको भेटिएको हो।
नगरपालिकाले कालाखोला बगर, भाटेखोला र गलुवा खोलासहितका बगरहरू ठेक्कामा लगाए पनि नदीलाई नै जोखिममा पार्ने गरी दोहन भइरहेको सरोकारवालाको भनाइ छ। विशेषगरी गलुवा र कालाखोला क्षेत्रमा हिउँदमा कालीगण्डकीमा पानी कम हुँदा नदीको धार मोडेर उत्खनन गर्ने गरिएको पाइएको छ।
यसरी नदी दोहन बढ्दै जाँदा बागलुङ र पर्वत दुबै क्षेत्रमा भूक्षय, बाढीपहिरो तथा नदी किनारका बस्तीमा जोखिम बढेको सरोकारवालाले बताएका छन्।
अनुगमनका क्रममा कालाखोला बगरमा नदीलाई पर्वततर्फ फर्काएर करिब २५० मिटरभन्दा बढी लम्बाइ, ५० मिटरभन्दा बढी चौडाइ र करिब सात मिटर गहिराइसम्म नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ। ठूला उपकरण प्रयोग गरेर उत्खनन गरिएको तथ्य फेला परेपछि कारबाहीका लागि नगरपालिकालाई जानकारी गराइएको अमरबहादुर थापाले बताए ।
थापाका अनुसार नियमअनुसार कम्तीमा ३० प्रतिशत मानव श्रम प्रयोग गर्नुपर्ने भए पनि अधिकांश काम पूर्ण रूपमा उपकरणमार्फत गरिएको छ, जसले नदीको प्राकृतिक संरचनामै परिवर्तन ल्याएको छ। “नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी दोहन भएको देखिएको छ, प्राविधिक प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्छ,” उनले भनेऽ ।
चौतर्फी दबाबपछि सरोकारवालाहरूले नदीमै पुगेर अनुगमन थालेका छन्। वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा बागलुङ नगरपालिकाले अधिकतम दुई मिटर गहिराइसम्म नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको भए पनि कतिपय स्थानमा आठ मिटरभन्दा बढी गहिराइ बनाइएको पाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
'सुशासन' लाई निरन्तरता दिंदै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि लगे प्राधिकरणको गाडी
-
धारै मोडेर कालीगण्डकी दोहन, मापदण्डविपरीत उत्खननले नदी सङ्कटमा
-
हाइड्रोपावर समूहको बलियो साथ पाएपछि दोहोरो अंकले बढ्यो शेयर बजार
-
अर्थमन्त्री वाग्लेसँगकाे भेटवार्तापछि शेयर बजार हरियाे
-
शेयर बजार सुरक्षित, लगानीकर्ताका लागि स्वर्णिम युग सुरु : स्वर्णिम वाग्ले
-
अर्थमन्त्री वाग्ले र स्टक ब्रोकर एशोसिएसनबीच भेट, पुँजी बजार सुधारबारे छलफल