सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न इन्जिनियर श्रीराम न्यौपानेको आकांक्षा सार्वजनिक

भिजन, समाधानको ब्लु–प्रिन्ट र कार्यान्वयन क्षमतासहित मैदानमा उत्रिएको दाबी

जलसरोकार
आइतबार, पुस २७, २०८२ | ०७:२३:०४ बजे

काठमाडौं  :  इन्जिनियर श्रीराम न्यौपानेले तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चुनाव चिन्हबाट उम्मेदवार बन्ने आकांक्षा सार्वजनिक गरेका छन् । सार्वजनिक अभिव्यक्तिमार्फत न्यौपानेले आफ्नो उम्मेदवारी केवल राजनीतिक महत्वाकांक्षा नभई स्थानीय भूगोल, समस्या र समाधानसँग गाँसिएको दाबी गरे ।

तनहुँमै जन्मेर हुर्किएको र क्षेत्रको सामाजिक-आर्थिक यथार्थसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै न्यौपानेले पछिल्ला दुई महिनामा तनहुँ-२ का ४३ वटै वडाका अधिकांश भूभागमा पुगेर स्थानीय सरोकारवालासँग संवाद गरेको बताए । “यो क्षेत्र मेरो लागि कागजी नक्सा होइन, अनुभूत गरिएको यथार्थ बनेको छ,” उनले भने ।

समस्या पहिचान मात्र होइन, समाधानको खाका

न्यौपानेले तनहुँ-२ ले दशकौँदेखि भोग्दै आएको राजमार्ग छेउका बस्तीको सुरक्षा समस्या, वर्षौंदेखि अलपत्र परेका विकास आयोजना, खानेपानी, सडक र सिँचाइका अभाव तथा ठूला परियोजनाबाट स्थानीयले पाउन नसकेको न्यायोचित लाभलाई मुख्य चुनौतीका रूपमा औँल्याए ।
बालबालिका, ज्येष्ठ नागरिक, असहाय वर्ग र वैदेशिक रोजगारीमा गएका युवाको पीडालाई सम्बोधन गर्न इन्जिनियरिङ ज्ञान, योजना र कार्यान्वयन क्षमतासहित स्पष्ट समाधानको ब्लु-प्रिन्ट तयार गरिएको उनको भनाइ छ ।

तनहुँलाई राष्ट्रिय आर्थिक रूपान्तरणको केन्द्र बनाउने भिजन

न्यौपानेले तनहुँ क्षेत्र नं. २ लाई केवल निर्वाचन क्षेत्र नभई देशकै आर्थिक रूपान्तरणको सम्भावनायुक्त केन्द्र का रूपमा चित्रण गरे । तनहुँ जलविद्युत आयोजनाबाट निर्माण हुने २१ किलोमिटर लामो जलाशयलाई पर्यटन, मत्स्यपालन, जलक्रीडा, होमस्टे र स्थानीय रोजगारीसँग जोड्ने बहुउपयोगी मोडेल प्रस्तुत गरेका छन् ।

त्यसैगरी कालीगण्डकी कोरिडोरसँग जोडिएको रिसिङ-घिरिङ क्षेत्रका करिब १० हजार हेक्टर समथर टार क्षेत्रमा स्मार्ट भिलेज, डेटा सर्भर स्टेशन, स्टिल प्रोसेसिङ, म्यानुफ्याक्चरिङ प्लान्ट, हाइड्रोजन ऊर्जा, रासायनिक मल, विस्फोटक पदार्थ, सिमेन्ट उद्योग तथा गिटी-बालुवा प्रशोधन केन्द्र स्थापना गरी राष्ट्रिय निर्माण सामग्री तथा औद्योगिक हब बनाउने अवधारणा अघि सारेका छन् । सो अवधारणासहितको ज्ञापनपत्र नेपाल सरकारलाई बुझाइसकिएको न्यौपानेले बताए ।

कृषि क्षेत्रमा सुन्तला, अदुवा, अंगुर जस्ता निर्यातमुखी उत्पादनसँगै धान, मकै, गहुँ, कोदो, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सकिने उनको दाबी छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रियता

न्यौपानेले आफ्नो उम्मेदवारी घोषणामा मात्र सीमित नरहेको दाबी गर्दै विगतमा विद्यालयमा स्मार्ट बोर्ड जडान, अपाङ्ग तथा अशक्तलाई व्हीलचेयर वितरण, आमा समूह र टोल विकास समितिलाई स्ट्रेचर सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, जलविद्युत आयोजनाको शैक्षिक भ्रमण लगायतका कार्यक्रम गरेको बताए ।

यसअघि संविधानसभा सदस्यहरूका लागि निःशुल्क इन्टरनेट-इमेल तालिम, शिक्षकलाई कम्प्युटर तालिम र वितरण, हजारौँ इन्जिनियर उत्पादनमा भूमिका, मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङमार्ग तथा विभिन्न जलविद्युत आयोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको पृष्ठभूमि पनि उनले प्रस्तुत गरे ।

तीन फरक राजनीतिक प्रणालीमा भएका तीन वटा निर्वाचनमा सहभागी भई निर्वाचित भइसकेको र प्रवल जनसेवाश्री (चतुर्थ) बाट सम्मानित भएको उल्लेख गर्दै उनले आफ्नो यात्रा परिणाममुखी रहेको दाबी गरे ।

पार्टीको मूल्य र आफ्नो जीवनदर्शन एकै दिशामा

रास्वपाले खोजेको इमानदार, पेशागत दक्ष, भ्रष्टाचारमुक्त र परिणाममुखी नेतृत्वसँग आफ्नो जीवनदर्शन र पेशागत यात्रा मेल खाने भन्दै न्यौपानेले उम्मेदवारी व्यक्तिगत नभई पार्टी र जनताको साझा आवश्यकता भएको बताए ।

संसदभन्दा बाहिर पनि कार्यकारी जिम्मेवारी सम्हाल्न सक्षम

तनहुँ-२ बाट निर्वाचित भएमा ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार र औद्योगिक विकास क्षेत्रमा कार्यकारी भूमिकामा तत्काल परिणाम दिन सक्ने उनको दाबी छ ।
“देशलाई आज नारा होइन, सिस्टम चलाउने मान्छे चाहिएको छ,” उनले भने ।

न्यौपानेले तनहुँ-२ ले अब भूगोल चिनेको, समस्या बुझेको र समाधानको ब्लु-प्रिन्टसहित संसद तथा सरकारमा पुगेर काम गर्न सक्ने प्रतिनिधि खोजिरहेको उल्लेख गरे ।
वि.सं. २१०० सम्म ५० हजार मेगावाट ऊर्जा उत्पादन तथा खपत, प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर र प्रतिव्यक्ति विद्युत् खपत पाँच हजार युनिट पुर्‍याउने राष्ट्रिय लक्ष्य हासिल गर्न आफू पूर्ण प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : आइतबार, पुस २७, २०८२ | ०७:२३:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया