समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले समयमै सरुवा तथा बढुवा नलिने कर्मचारीमाथि विभागीय कारबाही अघि बढाउने चेतावनी दिएको छ । प्राधिकरणको प्रशासन निर्देशनालयअन्तर्गत जनसाधन विभागले पुस ३० गते जारी गरेको परिपत्रमा सरुवा÷बढुवा पत्र प्राप्त गरेपछि तोकिएको समयभित्र रमाना नलिने कर्मचारीका कारण कार्यालय सञ्चालनमा समस्या देखिएको उल्लेख गरिएको छ ।
कर्मचारी सेवा, शर्त विनियमावली–२०७५ को विनियम ५४ को उपविनियम (४) अनुसार सरुवा वा बढुवा पत्र प्राप्त भएको मितिले २१ दिनभित्र रमाना लिनुपर्ने व्यवस्था छ । तर पछिल्लो समय उक्त व्यवस्था पालना नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण गराएको छ ।
परिपत्रमा तोकिएको समयभित्र रमाना नलिने कर्मचारीका कारण कार्यालय व्यवस्थापनमा समस्या उत्पन्न हुनुका साथै अनुशासनहीनता समेत बढ्दै गएको उल्लेख छ । यस्तो अवस्थामा सरुवा÷बढुवा भएका कर्मचारीलाई बढीमा तीन दिनभित्र रमाना दिन र रमाना नलिने कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।
यसैगरी, सरुवा वा बढुवा भई तोकिएको समयभित्र रमाना नलिने कर्मचारीहरूको विवरण यथाशीघ्र उपलब्ध गराउनसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ । उक्त निर्देशन २०८२ माघ १५ गतेको निर्णयअनुसार कार्यान्वयन गर्न भनिएको छ।
परिपत्र नेपाल विद्युत् प्राधिकरणका अर्थ, वितरण तथा ग्राहक सेवा, प्रसारण, उत्पादन, आयोजना व्यवस्थापन, योजना अनुगमन तथा प्रविधि, इञ्जिनियरिङ सेवा र व्यवसाय विकास निर्देशनालयलगायत सबै सम्बन्धित कार्यालयलाई पठाइएको छ ।
प्राधिकरणले यस किसिमको निर्णयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?