अर्थतन्त्र संकटबाट सुधारतर्फ उन्मुख: निजी क्षेत्रको मनोबल जोगाउन काम गर्यौं : चन्द्रप्रसाद ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको मनोबल जोगाउने, अर्थतन्त्रलाई चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण काम भएको बताएका छन्।
पत्रकार तथा सञ्चारकर्मीहरूसँगको भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले आफूले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गरे।
उनका अनुसार कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा तथा सरकार परिवर्तनका कारण उत्पन्न नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको थियो। यस्तो अवस्थामा निजी क्षेत्रको आत्मविश्वास जोगाउनु र आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउनु प्राथमिकता रहेको उनले बताए।
ढकालले आफ्नो कार्यकालका लागि पाँच प्रमुख प्राथमिकता तय गरिएको उल्लेख गरे। तीमध्ये आर्थिक संकट समाधान, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा व्यवसायीहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्ने विषय प्रमुख रहेको उनले बताए।
तीन वर्षको अवधिमा नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको सक्रिय सहभागिता बढाइएको उनले बताए। परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै महासंघले नीति निर्माणमै प्रभावकारी हस्तक्षेप गर्न सफल भएको उनको दाबी छ। राष्ट्रिय आर्थिक बहस आयोजना गरी सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको र त्यसकै आधारमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको उनले जानकारी दिए।
उक्त आयोगले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरेको र यसले लगानी वातावरण सुधारका लागि आधार तयार पारेको ढकालको भनाइ छ। साथै निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ का रूपमा घोषणा गरिएको र नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको उनले बताए।
उनले द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न देशहरूसँग सम्झौता प्रक्रिया अघि बढेको जानकारी दिँदै यसले वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ढकालका अनुसार राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई टकरावबाट सहकार्यतर्फ रूपान्तरण गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि हो। निजी क्षेत्रलाई नियामक दबाबमा राख्ने प्रस्तावहरू परिमार्जन गर्दै लगानीमैत्री वातावरण जोगाउन सफल भएको उनले बताए।
त्यसैगरी डेडिकेटेड फिडर तथा ट्रंकलाइन महशुल विवाद समाधानका लागि पनि पहल गरिएको उनले उल्लेख गरे।
आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानीको नयाँ ढाँचा प्रस्तुत गरेको उनले बताए। साथै भारत, चीन, यूएई, कतार, बेलायतलगायत देशहरूसँग लगानी संवाद र सम्मेलन आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको उनले जानकारी दिए।
संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी र समावेशी बनाइएको उनले बताए। अध्यक्षको प्रत्यक्ष निर्वाचन, महिला सहभागिता वृद्धि तथा जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण जस्ता सुधार गरिएका छन्।
ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको साझेदारका रूपमा स्थापित गर्न सफल भएको दाबी गर्दै पहिलो पटक निजी क्षेत्रको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको बताए। यसले नीति बहसमा तथ्यमा आधारित पैरवी गर्न सहयोग पुगेको उनको भनाइ छ।
पत्रकारहरूको भूमिकाको प्रशंसा गर्दै उनले आर्थिक पत्रकारिताले नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताए। तथ्यमा आधारित विश्लेषण र रचनात्मक आलोचनाले निजी क्षेत्रलाई थप जिम्मेवार बनाउन सहयोग पुगेको उनले उल्लेख गरे।
महासंघ र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिँदै उनले नियमित संवाद र पारदर्शितामार्फत अर्थतन्त्रलाई गतिशील बनाउने साझा लक्ष्य रहेको बताए।
कार्यक्रमको अन्त्यमा उनले आफ्नो तीनवर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने सञ्चारकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लाङटाङ जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु, १२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा
-
नेप्से परिसूचक ४८ अंकले बढ्दा कारोबार झन्डै १० अर्ब
-
अर्थतन्त्र संकटबाट सुधारतर्फ उन्मुख: निजी क्षेत्रको मनोबल जोगाउन काम गर्यौं : चन्द्रप्रसाद ढकाल
-
निजी क्षेत्रलाई सरोकारवाला होइन, ऊर्जा क्षेत्रको साझेदार मान्छौँ : मन्त्री श्रेष्ठ
-
ऊर्जा उद्यमी बटु लामिछाने महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवार
-
नेप्सेमा शिखर पावर डेभलपमेन्टको शेयर सूचीकृत, ९८ लाख कित्ता शेयर बजारमा प्रवेश