पीपीएको मस्यौदा : निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारी नीति
किनभने लगानी वा व्यापार विश्वासले चल्छ, गफले चल्दैन।
गोविन्द शर्मा पोखरेल
मेरो यो आलेख सार्वजनिक हुँदासम्म प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सम्पन्न भइसके छ। सँगसँगै यो भ्रमणमाथि गरिएका आशा-निराशाका पुलिन्दा पनि सार्वजनिक भइसकेका छन्। सबैका आफ्ना-आफ्ना अपेक्षा र आशा यस भ्रमणसँग जोडिएकाले जस्तोसुकै नतिजा निस्के पनि पक्षहरूले गीत गाउने र विपक्षले विरोधका अलाप गाउने कुरामा बीसको उन्नाइस होला नै। तर जनताका विशुद्ध आकांक्षाहरुमा केही उपलब्धि भएको नै देखिएला भन्ने मेरो हेक्का छ। वास्तविकता त सार्वजनिक भइ नै हाल्छ, अविलम्ब नै हुन्छ। अहिलेसम्म भइसकेको छ।
अब यस आलेखको प्रमुख विषयवस्तु, प्रस्तावित विद्युत् खरिद-बिक्री सम्झौता वा प्रस्तावित सम्झौताका सर्तहरूबारे मेरो विचार सार्वजनिक गर्छु। यसको प्रारम्भमा छोटो इतिहास दोहोर्याउन चाहन्छु। सन् १९९२ मा नेपाल सरकारबाट स्वीकृत विद्युत् ऐन, २०४९ मार्फत नेपाल सरकारले अवलम्बन गरेको खुला जलविद्युत् नीतिका कारण तत्कालका १० वर्षमा दुईवटा विदेशी कम्पनीहरूले ६० मेगावाट जडित क्षमताको खिम्ती र ४५ मेगावाटको माथिल्लो भोटेकोशी आयोजनाको निर्माण सम्पन्न गरेको भए पनि नेपाली लगानीकर्ताहरूको लगानी एकदमै सीमित थियो। तत्पश्चात् १० वर्षे जनआन्दोलन भनिएको आतंककारी गतिविधिसहितको २०६२-६३ सालसम्मको अवधिमा केही नेपाली लगानीकर्ताहरूले केही साना जलविद्युत् आयोजनाहरूमा लगानी गरेको भए पनि अपेक्षाकृत नतिजा आउन सकेको थिएन। तर, २०६२-६३ पछिको २० वर्षे अवधिमा नेपालको जलविद्युत्मा नेपालीहरूको लगानी उल्लेख्य रूपमा बढेको हामीले देखेकै छौँ। यस अवधिमा नेपालमा जलविद्युत् एउटा प्रमुख उद्योगका रूपमा स्थापित भइसकेको छ। यसै लगानीका कारण नेपालको बैंकिङ क्षेत्र, निर्माण व्यवसाय, बीमा व्यवसायमा समेत उल्लेख्य रूपमा क्षमता वृद्धि भएको छ। अझ प्रमुख कुरा त के भने जलविद्युत् आयोजनाहरूका प्रवर्द्धकहरूले आफ्ना आयोजना निर्माण गर्ने क्रममा सयौँ किलोमिटर बाटो, पुल-पुलेसा निर्माण गरी सार्वजनिक प्रयोगका लागि निःशुल्क नेपाली जनतालाई उपलब्ध गराएका छन्। यिनै पूर्वाधारका कारण नेपालका दुर्गम र अतिदुर्गम क्षेत्रहरूको कनेक्टिभिटीमा व्यापक सुधार भएको छ, त्यहाँको आर्थिक गतिविधिमा तीव्रता आएको छ। सरसर्ती हेर्दा जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले निर्माण गरी निःशुल्क सञ्चालनमा राखेका बाटोहरूको कुल लम्बाइ सरकारी निकायद्वारा सोही अवधिमा निर्माण सम्पन्न गरेका बाटोहरूको लम्बाइभन्दा कम देखिए पनि सरकारी निकायद्वारा दुर्गम क्षेत्रमा निर्माण गरेका धेरै बाटाघाटाहरू मौसमी रूपमा मात्र सञ्चालनयोग्य रहने हुनाले स्थानीय गतिविधिहरूमा तिनको योगदान छोटो र सीमित भएको पाउँछौँ। तर जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले निर्माण गरेका बाटाहरू निजहरूले नै नियमित सञ्चालन तथा सम्भारसमेत गर्ने गरेकाले प्रायः अविच्छिन्न रूपमा सञ्चालनमा रहेकाले स्थानीय क्रियाकलापमा तिनको योगदान अतुलनीय देखिन्छ। त्यसैले, निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको योगदान केवल बिजुली उत्पादनमा मात्र सीमित रहेको भनेर यस उद्योगलाई अवमूल्यन नगर्न मेरो सुझाव छ।
तर, नेपाल सरकारले समय-समयमा नेपालको निजी जलविद्युत् उद्योगलाई अप्ठेरो पर्ने वा अप्ठेरोमा पार्ने किसिमका गलत नीतिहरू लागू गर्ने भनी चर्चामा ल्याउने गरेको पाइन्छ। कुनै यस्ता नीतिहरू स्वीकृत भई लागू समेत भए भने कतिपय यस्ता नीति कागजमा मात्र सीमित रहे। यस्तै प्रकारको जलविद्युत् नीतिसहितको ऊर्जा खरिद-बिक्री सम्झौताको मस्यौदा नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ। वास्तवमा नीतिहरू सामान्यतया फेरिँदैनन्, फेरिए भने पनि पूर्वरूपमा लगानी भइसकेका क्षेत्रमा नकारात्मक असर नपर्ने गरी फेरिन्छन्। अथवा, बाध्यात्मक परिस्थितिमा फेर्नुपर्ने भएमा लगानीकर्ताको सल्लाह र सुझावलाई समेत मूल्यांकन गरेर मात्र फेरिन्छन्। विद्यमान पीपीए नीति पनि विभिन्न मितिमा सुधार र संशोधन भई आजको रूपमा पुगेको हो। त्यसैले, सुधारोन्मुख संशोधन सधैँ स्वागतयोग्य हुन्छन् भने सरकारले एकतर्फी रूपमा मस्यौदा गरेका यस्ता कानुनहरू सरोकारवालाहरूको विरोधका विषय बनेको हामीले देखेका छौँ। यसै सकारात्मक नीतिका कारण नेपालको जलविद्युत्मा नेपालको निजी क्षेत्रको योगदान उल्लेख्य रहेको छ। सरकारी निकाय र सरकारसँग आबद्ध निकायहरूबाट विगत १०० वर्षमा निर्माण गरी सञ्चालनमा रहेका विद्युत् आयोजनाको कुल जडित क्षमता २००० मेगावाट पनि पुगेको छैन भने करिब ३० वर्षअघि कानुनका रूपमा आएको तथा करिब करिब गत २० वर्षदेखि मुख्य रूपमा प्रवर्द्धन गरिएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको कुल जडित क्षमता सरकारी क्षमताभन्दा निकै ज्यादा भइसकेको छ। निर्माणका विभिन्न चरणमा रहेका जलविद्युत् योजनाको आँकडा हेर्दा यो क्रम उत्साहजनक रूपमा अगाडि बढेको देखिन्छ। तर यसमाथि लगाम थप्नुपर्ने सरकारी बाध्यता केही हुन सक्ने भए पनि यसलाई लगामका रूपमा होइन, अवसरका रूपमा नेपाल र नेपालको निजी क्षेत्रलाई समेत साथ लिई जान सक्ने अवस्था विद्यमान हुँदाहुँदै सरकारको नकारात्मक रवैया नेपालका लागि तथा नेपालको जलविद्युत् क्षेत्रका लागि घातक छ। किनभने लगानी वा व्यापार विश्वासले चल्छ, गफले चल्दैन।
यो कुराको प्रमाण त नेपालमा जलविद्युत्मा लगानी गरेका नर्वेका र अमेरिकाका लगानीकर्ताले वचनबाट होइन, कार्यबाट दिइसकेका छन्। माथिल्लो भोटेकोशी आयोजनामा लगानी गरेको अमेरिकी कम्पनी आफ्नो सम्पूर्णप्रायः लगानी हस्तान्तरण गरेर बिदा भइसकेको छ भने अर्को नर्वेजियन लगानीकर्ताले करिब २५ वर्ष अगाडि खिम्ती आयोजना सम्पन्न गरी सञ्चालनमा राखेको छ, तर नेपालमा अन्य कुनै योजनामा थप लगानी गर्ने उत्साह देखाएन। त्यसैले, नेपालका लगानी सम्मेलनहरूमा जस्तोसुकै नाटक मञ्चन गरिए पनि लगानीकर्ता सो नाटकको सबै यथार्थ राम्रोसँग बुझ्छन् र सम्मेलनमा जेसुकै भने पनि तात्त्विक रूपमा नेपालमा लगानी ल्याएका छैनन्। सन् २०१६ को अन्त्यमा पीडीए गरी २०२४ मा आयोजना सम्पन्न गर्ने गरी कोरियाबाट भित्रिएको लगानी पनि नेपाल सरकारको “सोभरेन ग्यारेन्टी” का कारण मात्र भित्रिएको भन्ने बिर्सनु हुँदैन, किनभने व्यापार सोभरेन ग्यारेन्टीबाट चल्दैन।
विद्युत् क्षेत्रमा भएको भारतीय लगानी प्राविधिक रूपमा नेपालमा भएको लगानी नै भए पनि म यसलाई नेपालमा भएको लगानी मान्दिनँ, किनभने यसबाट उत्पादन हुने विद्युत्सहित सबै प्रकारका सकारात्मकताहरू निर्यात हुन्छन् र नेपालीको भागमा नगण्य रोयल्टी र केही साधारण रोजगारी मात्र प्राप्त हुने गरेको छ। उक्त भारतीय आयोजनाहरूबाट हिउँदको समयमा उत्पादन हुने विद्युत्मा नेपालको केही हक वा अधिकार हुन सके नेपालको लागि धेरै सकारात्मक हुने थियो। तर...
सरकार एकातिर १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्याउने सतही गुड्डी हाँक्छ भने अर्कोतर्फ यस क्षेत्रलाई नै तहसनहस पार्ने नीति अगाडि सार्दछः यो त “डाक्टर ज्याकल एन्ड मिस्टर हाइड” जस्तो भएन? यो विरोधाभासपूर्ण कुरा त एउटै नीतिभित्र अटाउने कुरा होइन नि। यी दुवै कुरालाई एउटै नीतिभित्र अटाउन खोज्दा त नेपालको सबै जलविद्युत् आयोजनाहरू छिमेकीलाई दान गर्ने नीति अवलम्बन गर्दा मात्र सम्भव हुन्छ। किनभने छिमेकीलाई दान गर्दा नेपालमा पीपीए नै नगरी मेगावाट थपिन सक्छ। यो त मलाई आजको परिप्रेक्ष्यमा असम्भव जस्तो लाग्छ। त्यसो भए के होला त? सरकारले नै जवाफ दिनुपर्यो।
मेरो विचारमा नेपालमा अहिले पीपीएको दायरा खुम्च्याउनुपर्ने होइन, नेपालको विद्युत् नीतिलाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था विद्यमान रहेको छ। नेपालको विद्युत् नीति पुनःपरिभाषित गर्नुपर्ने कारणहरूमा निम्नबमोजिम प्रमुख छन्:
१. नेपाललाई विद्युत्मा आत्मनिर्भर बनाउन — नेपाललाई विद्युत्मा आत्मनिर्भर बनाउनेभित्र निम्न चार विषयहरू समेटिन्छन्।
क. नेपालको विद्युत् उत्पादन र मागबीच विद्यमान मौसमी भिन्नतालाई न्यून गर्ने।
ख. यसको लागि हिउँदका महिनामा अधिकतम विद्युत् उत्पादन गर्न, हिउँदकै महिनामा उच्चतम मागबमोजिमको विद्युत् उत्पादन गर्न सक्ने र वर्षात्का महिनामा न्यूनतम परिमाणमा विद्युत् उत्पादन गर्न मिल्ने आयोजना निर्माण गर्ने नीति अवलम्बन गर्ने। यो भनेको जलाशययुक्त आयोजनाहरूको निर्माणलाई प्राथमिकता मात्र होइन, जलाशययुक्त आयोजनाको निर्माण र नियमन गरिएको पानीको पुनःप्रयोग गर्न सक्ने आयोजनाको निर्माणलाई प्रोत्साहन गर्ने।
ग. सम्भाव्य पम्प स्टोरेज आयोजनाको विकास गर्ने। यहाँ सम्भाव्य किन राखियो भने पम्प स्टोरेज आयोजना साधारण आयोजनाभन्दा महँगा हुन सक्दछन्, तर प्रयोगमा ल्याइएको विद्युत्बाट हुन सक्ने फाइदासँग तुलना गर्दा पम्प स्टोरेज आयोजना कदापि महँगा हुँदैनन्।
घ. पहिचान भएका तथा निर्माणको पाइपलाइनमा रहेका जलाशययुक्त आयोजनाबाट नियमन गरिने पानीलाई नेपालभित्र नै खपत गरी जलाशययुक्त आयोजनाका कारण विद्युत् आयोजनामा पर्ने आर्थिक भार न्यून गर्ने।
२. दिउँसोको समयको विद्युत् माग पूर्ति गर्न सौर्य विद्युत् केन्द्रहरूको निर्माण लागतका हिसाबले तथा उपलब्धताका हिसाबले उचित देखिन्छ, तर तराईको धान खेतमा धानको सट्टा बिजुलीको खेती गर्न कदाचित् प्रोत्साहित गर्ने नीति नेपालका लागि नकारात्मक छ।
३. बिजुलीको उच्चतम माग भएको समयमा मागअनुसारको विद्युत् आपूर्ति गर्न ब्याट्रीहरूको प्रयोगले कालान्तरमा वातावरणीय समस्या आउने छ। त्यसैले, ब्याट्रीको प्रयोगलाई साधारणतया निरुत्साहित गर्ने नीति अवलम्बन गर्नु नै नेपालका लागि उत्तम विकल्प हो।
४. पहिचान भएका अधिकांश जलाशययुक्त आयोजनाका अनुमतिपत्रहरू सरकारी निकायका अधीनमा रहेकाले यस प्रकारका आयोजनाको निर्माण र सञ्चालनमा नेपालको निजी क्षेत्रलाई सहभागी गराउन सरकारले उपयुक्त किसिमको नीति निर्माण गरी लागू गर्ने। यस विधामा किन नेपालको निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ भन्ने बारेमा मेरा पहिलेका आलेखहरूमा विस्तृत चर्चा परिचर्चा गरिसकेकोले यसमा सो कुरा समावेश नगरेको हो।
परम्परागत विद्युत्का प्रकारहरूबाट नेपालको जस्तो मौसमी उतारचढाव रहेको विद्युत्को उत्पादन र मागबीचको बढ्दो असमानतालाई न्यून गरी नेपाललाई विद्युत्मा आत्मनिर्भर बनाउन गर्नुपर्ने कार्यहरू र निर्माण गरी लागू गर्नुपर्ने नीतिहरूबारे माथि विवेचना गरियो। त्यसका लागि देशका अन्य नीतिहरू पनि उत्पादन तथा खपतमैत्री हुनुपर्छ। यस्ता मैत्रीपूर्ण नीतिहरूमा निम्नलिखित विषयहरू पर्दछन्:
१. विद्यमान वन नीतिमा ठूला तथा जलाशययुक्त आयोजना निर्माणमैत्री नीति हुने गरी परिमार्जन वा संशोधन गरिनु पर्दछ।
२. दोस्रो भनेको जग्गाको हदबन्दीसम्बन्धी नीति: जलाशययुक्त आयोजनाका लागि कम्तीमा जलाशयले ओगट्ने स्थान बराबरको जग्गाभन्दा केही ज्यादा जग्गा एकै पटकमा उपलब्ध गर्न गराउन सकिने नीति हुनुपर्नेमा हालको व्यवस्थाले गर्दा मझौला जलाशय भएको आयोजना निर्माण गर्न पनि आयोजना निर्माण गर्न लाग्ने कुल समयको झन्डै बराबरीको समय जग्गा प्राप्तिमा लाग्ने देखिन्छ।
३. विद्यमान व्यवस्थाअनुसार सानो जलविद्युत् आयोजना निर्माण गर्न पनि करिब ३२-३५ वटा स्वीकृति विभिन्न सरकारी निकायहरूबाट लिनु पर्दछ। यो झन्झटलाई आयोजना निर्माणमैत्री बनाउन अत्यन्त जरुरी छ।
४. निर्माण सम्पन्न भएको केही समय पश्चात् सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्ने आयोजना निर्माणमा सरकारी स्रोत प्रयोग गरेबापत सरकारलाई आयोजना प्रवर्द्धकले महँगो शुल्क तिर्नुपर्ने अन्यायकारी व्यवस्था पनि संशोधनयोग्य छ।
त्यसैले, नेपाल सरकारले कुनै पनि सरकारी नीति-नियमहरूको संशोधन गर्दा सरोकारवालाहरूसँगको सल्लाह, सहमति, सुझावका साथै विज्ञहरूको लिखित सुझावसहितको प्रतिवेदनका आधारमा मात्र गर्न उचित हुन्छ। अन्यथा गरिने संशोधनहरू नेपाल र नेपालीका लागि प्रत्युत्पादक हुन सक्छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पीपीएको मस्यौदा : निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारी नीति
-
सुनकोसी–मरिण अलपत्र पार्ने निर्णयको हिसाब खोज्दै लेखा समिति, सात दिनभित्र कागजात बुझाउन निर्देशन
-
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपि पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम
-
बालेनको भारत भ्रमणलाई भारतीय मिडियाले ‘सफल कूटनीति’का रूपमा प्रस्तुत गरे
-
देशभर मौसम मुख्यतः सफा, तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो