सुनकोसी–मरिण अलपत्र पार्ने निर्णयको हिसाब खोज्दै लेखा समिति, सात दिनभित्र कागजात बुझाउन निर्देशन
जलसरोकार
काठमाडौं : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन अघि बढाएको छ। समितिले ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रिया, कानुनी आधार तथा आयोजनाको आगामी कार्ययोजनासहितका आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हाे।
समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले ठेक्का रद्द हुनुको कारणसँगै आयोजनामा भएको ढिलाइ र निर्णय प्रक्रियामा राजनीतिक वा प्रशासनिक हस्तक्षेप भए–नभएको विषयमा प्रश्न उठाएका थिए। सांसद ओलीले ठेक्का रद्द गर्ने विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया प्रधानमन्त्री कार्यालय गएको विषयबारे जवाफ मागेकी थिइन्।
जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्दै त्यहाँबाट कुनै हस्तक्षेपको अनुभूति नगरेको बताए। यसले आयोजना व्यवस्थापन र ठेक्का रद्दको निर्णय प्रक्रियामाथि थप प्रश्न उठाएको छ।
सांसद झाले भने १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ सन् २०२४ मै भइसके पनि आयोजना अपेक्षित गतिमा अघि नबढ्नु गम्भीर विषय भएको बताएका थिए। उनले आयोजना किन रोकियो, ठेक्का किन रद्द गर्नुपर्ने अवस्था आयो र अब कसरी अघि बढाइन्छ भन्ने तीनवटै विषयमा स्पष्ट जवाफ मागेका थिए।
सुनकोसी–मरिण आयोजना मधेसका लागि सिँचाइको दृष्टिले महत्वपूर्ण मानिन्छ। आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागमा करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। त्यसैले आयोजनाको निर्माणमा हुने ढिलाइ केवल एउटा ठेक्का विवादमा सीमित नरही कृषि उत्पादन, सिँचाइ र ऊर्जा विकासको योजनामै असर पार्ने देखिन्छ।
बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले सुरुङ निर्माणको प्रगति राम्रो भए पनि हेडवर्क्स निर्माणमा ढिलाइ भएको बताए। अब आवश्यक खरिद प्रक्रिया पूरा गरी नयाँ बोलपत्रमार्फत काम अघि बढाउने तयारी रहेको उनले जानकारी दिए। विभागका महानिर्देशक रजौरियाका अनुसार ठेक्का तोड्ने क्रममा बैंक ग्यारेन्टीबापत १ अर्ब २० करोड रुपैयाँ फिर्ता आएको छ।
ठेक्का रद्द हुनु मात्रै समाधान होइन
आयोजनाको ठेक्का रद्द भएपछि नयाँ ठेक्का लगाउने तयारीले निर्माण प्रक्रिया पुनः अघि बढ्ने संकेत गरे पनि समयको क्षति भने तत्काल पूर्ति हुने देखिँदैन। सुरुङ निर्माण सम्पन्न भइसकेको अवस्थामा हेडवर्क्सलगायत बाँकी संरचनामा ढिलाइ हुँदा तयार भइसकेको पूर्वाधारको उपयोगसमेत पछाडि धकेलिने जोखिम छ।
अर्कोतर्फ, ठेक्का रद्द हुनुमा निर्माण व्यवसायीको कमजोरी थियो वा राज्य पक्षकै व्यवस्थापकीय कमजोरी पनि थियो भन्ने प्रश्न अझै स्पष्ट हुन बाँकी छ। त्यसैले सार्वजनिक लेखा समितिले मागेका कागजातबाट ठेक्का रद्दको वास्तविक कारण, निर्णय प्रक्रियाको वैधानिकता र आयोजनामा भएको ढिलाइको जिम्मेवारी कसको हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।
मधेसका ठूलो भूभागमा सिँचाइ विस्तार र २८ मेगावाट विद्युत् उत्पादनसँग जोडिएको आयोजनामा फेरि अर्को ठेक्का विवाद वा प्रशासनिक ढिलाइ दोहोरिएमा यसको लागत मात्र बढ्ने होइन, लामो समयदेखि प्रतीक्षारत सिँचाइ योजनासमेत थप पछाडि धकेलिने जोखिम छ। त्यसैले अबको चुनौती ठेक्का रद्द गरेर नयाँ ठेकेदार खोज्नु मात्र नभई आयोजना कुन समयसीमाभित्र सम्पन्न गर्ने भन्ने स्पष्ट र जवाफदेही कार्ययोजना बनाउनु हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पीपीएको मस्यौदा : निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारी नीति
-
सुनकोसी–मरिण अलपत्र पार्ने निर्णयको हिसाब खोज्दै लेखा समिति, सात दिनभित्र कागजात बुझाउन निर्देशन
-
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपि पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम
-
बालेनको भारत भ्रमणलाई भारतीय मिडियाले ‘सफल कूटनीति’का रूपमा प्रस्तुत गरे
-
देशभर मौसम मुख्यतः सफा, तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो