सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दिब्यश्वरी हाइड्रोपावरको नाफा डेढ करोड नजिक, विद्युत् बिक्री आम्दानीमा उल्लेख्य सुधार

जलसरोकार
बुधबार, साउन २०, २०८३ | ११:२८:५६ बजे

 

काठमाडौं : दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा विद्युत् बिक्री आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार गरेको छ।

विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो त्रैमाससम्म कम्पनीको नाफा ५७ लाख ८४ हजार रुपैयाँ रहेको थियो भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६८ लाख ६३ हजार रुपैयाँ घाटामा रहेको थियो। यससँगै कम्पनी घाटाबाट नाफामा फर्किएको छ।

गत आर्थिक वर्षमा कम्पनीको विद्युत् बिक्री आम्दानी १० करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ९९ लाख २८ हजार रुपैयाँ रहेको थियो। विद्युत् बिक्री बढेसँगै कम्पनीको कूल नाफा (ग्रस प्रोफिट) ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

सञ्चालनतर्फ कम्पनीको प्रदर्शन पनि सुधारिएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ५ करोड ५० लाख ६४ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ करोड ९८ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

यद्यपि, कम्पनीको वित्तीय खर्च ३ करोड ९९ लाख ५९ हजार रुपैयाँ पुगेकाले नाफामा केही दबाब परेको देखिन्छ। त्यसपछि करअघिको नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ कायम भएको हो।

वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति ७५ करोड ४२ लाख ९१ हजार रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ यथावत् रहेको छ भने सञ्चित नोक्सानी घटेर २४ करोड १८ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। यससँगै कम्पनीको कुल स्वपुँजी (इक्विटी) २ करोड २१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ ८ रुपैयाँ ३८ पैसा, प्रतिशेयर कुल सम्पत्ति २८ रुपैयाँ ५७ पैसा, तरलता अनुपात ०.२३ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४९ रहेको छ।

कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनमा सुधार आएपछि आम्दानी बढेको जनाएको छ। साथै, बैंक ऋणको ब्याजदर घट्दै गएकाले आगामी दिनमा वित्तीय खर्च थप घट्ने र नाफामा अझ सकारात्मक प्रभाव पर्ने अपेक्षा पनि कम्पनीले गरेको छ।

प्रकाशित मिति : बुधबार, साउन २०, २०८३ | ११:२८:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया