सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चक्रवात ‘अनर्ब’को प्रभाव : कात्तिक १३ र १४ गते बाढीको जोखिम

नारायणी, बागमती, कमला र कोशी जलाधारमा मध्यमदेखि भारी वर्षाको सम्भावना, पहाडी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

जलसरोकार
मंगलबार, कात्तिक ११, २०८३ | ०४:४०:२३ बजे

काठमाडौं : चक्रवात ‘अनर्ब’को सम्भावित प्रभावका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न नदी तथा जलाधार क्षेत्रमा वर्षा भई जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ। 

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको प्रारम्भिक आकलनअनुसार कात्तिक १३ र १४ गते नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।

महाशाखाले कात्तिक ९ गते जारी गरेको ‘चक्रवात अनर्बको सम्भावित प्रभाव : प्रारम्भिक बाढी-पहिरो तथा अन्य जलविज्ञान जोखिम आकलन तथा पूर्वसूचना’मा विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदी जलाधार तथा तिनका उपजलाधार क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण नदीको जलसतह बढ्नुका साथै पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहन सक्ने आकलन गरिएको छ।

महाशाखाको पाँचदिने पूर्वानुमानअनुसार कात्तिक ११ गते देशका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहनेछ। कात्तिक १२ गते नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा नदीको जलसतह सामान्य बढ्न सक्ने भए पनि जोखिम न्यून रहने अनुमान गरिएको छ।

कात्तिक १३ गते नारायणी, कोशी र तिनका शाखा नदी, बागमती, कमला, तिनाउ तथा आसपासका जलाधारमा मध्यमदेखि भारी वर्षा हुन सक्ने र नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। यस दिन महाकाली, कर्णाली, पश्चिम राप्ती, बबई तथा तिनका शाखा नदीमा भने जलसतह सामान्य मात्र बढ्ने आकलन गरिएको छ।

कात्तिक १४ गते पनि नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने अनुमान छ। अघिल्ला तीन दिनको वर्षाका कारण प्रमुख नदीको जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने भए पनि प्रारम्भिक आकलनअनुसार खतराको तह पार गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ।

कात्तिक १५ गते कोशी, बागमती तथा नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र जलजन्य जोखिम न्यून रहने अनुमान गरिएको छ।

पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढीको जोखिम

प्रमुख नदीको जलसतह खतराको तहभन्दा माथि पुग्ने सम्भावना कम देखिए पनि पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहन सक्ने महाशाखाको आकलन छ। विशेषगरी कात्तिक १२ र १३ गते नारायणी, बागमती, कमला तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावना औँल्याइएको छ।

आकस्मिक बाढीको जोखिम साना नदी, खोला तथा खोल्सामा पनि हुन सक्ने भएकाले मुख्य नदीको जलसतह सामान्य रहेको अवस्थालाई मात्र आधार मानेर जोखिम नरहेको निष्कर्ष निकाल्न नहुने देखिन्छ। वर्षाको वास्तविक मात्रा र स्थानीय भौगोलिक अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने भएकाले सतर्कता आवश्यक छ।

यसैगरी कोशी तथा नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो तथा अन्य हिमाली जोखिमको सम्भावना पनि औँल्याइएको छ।

नदी किनार र खोला आसपास यात्रा नगर्न आग्रह

महाशाखाले सम्भावित वर्षा तथा जलजन्य जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनारका सडक, जोखिमयुक्त नदी उपत्यका र हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

उक्त अवधिमा खोला तर्ने तथा नदी किनारमा जाने कार्य नगर्न, आवश्यक नभएसम्म यात्रा नगर्न र आधिकारिक सूचना तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

महाशाखाले यो आकलन प्रारम्भिक रहेको जनाएको छ। चक्रवातको सम्भावित प्रभाव, वर्षाको अवस्था तथा नदीको जलसतहसम्बन्धी अद्यावधिक पूर्वानुमानका आधारमा जोखिमको आकलन परिवर्तन हुन सक्नेछ। बुलेटिनमा उल्लेख भएअनुसार कात्तिक ९ गतेदेखि प्रणाली अन्त्य नहुँदासम्म पाँचदिने बाढी-पहिरो पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी विस्तृत बुलेटिन जारी गरिनेछ।

प्रकाशित मिति : मंगलबार, कात्तिक ११, २०८३ | ०४:४०:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया