सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महाकालीको बाढी नियन्त्रणका लागि एक हजार २२० मिटर तटबन्ध निर्माण

जलसरोकार
बुधबार, भदौ ०३, २०८३ | ११:२१:१६ बजे

 

कञ्चनपुर : महाकाली नदीको बाढीबाट बर्सेनि हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ। नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनलाई बाढीबाट जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको हो।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले ११ करोड ६५ लाख रुपैयाँ खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो।

आयोजना प्रमुख रञ्जनराज भट्टराईका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर, जोगबुढा नदीमा २५५ मिटर तथा भीमदत्त नगरपालिका–दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको छ।

तटबन्ध निर्माणपछि महाकाली र जोगबुढा नदीको बाढीबाट हरेक वर्ष प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ।

कुतियाकवर बस्तीको सुरक्षाका लागि मात्रै ७६२ मिटर तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर बस्ती दुवै नदीको बाढीका कारण वर्षेनि जोखिममा पर्दै आएको थियो।

तटबन्ध निर्माण भएपछि बाढीको समयमा नदीको बहावबाट हुने कटान तथा बस्तीमा पानी पस्ने जोखिम कम हुने अपेक्षा गरिएको छ।

पुराना तटबन्धको मर्मतसम्भार पनि

नदी नियन्त्रण तथा व्यवस्थापनका लागि निर्माण भएका पुराना संरचनाको मर्मतसम्भारको काम पनि नियमित रूपमा भइरहेको कार्यालयले जनाएको छ।

महाकाली नदीमा निर्माण गरिएका कतिपय तटबन्ध २५ वर्ष पुराना भइसकेकाले जीर्ण हुँदै गएका छन्। त्यस्ता संरचनाको आवश्यकताअनुसार मर्मत तथा संरक्षणको काम गर्दै आएको आयोजना प्रमुख भट्टराईले बताए । 

महाकाली नदीपारि दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको कामसमेत अघि बढिरहेको छ। बन्दरगाहलगायतका महत्वपूर्ण पूर्वाधार विकास भइरहेका क्षेत्रमा बाढी तथा नदी कटानको जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माणलाई महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : बुधबार, भदौ ०३, २०८३ | ११:२१:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया