जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मध्य भोटेकोसीले १० करोड रुपैयाँ दिनुपर्ने भन्दै प्रसारणलाइन निर्माणमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको अवरोध

दुई किलोमिटर तार तान्न नदिएर उत्पादित बिजुली खेर जाने

जलसरोकार
सोमबार, वैशाख ३१, २०८१ | १२:३८:०८ बजे

 

काठमाडौं- पटक–पटक सरकारको मन्त्री र जनप्रतिनिधि भइसकेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले मध्यभोटेकोसी जलविद्युत् आयोजनाको दुई किलोमिटर प्रसारण लाइनमा तार तान्ने काममा विगत करिब ११ महिनादेखि अवरोध खडा गर्दै आएका छन् ।  

आयोजनाको सम्पूर्ण भौतिक निर्माण सम्पन्न गरी परीक्षण कार्य समेत सकेर बिजुली उत्पादन हुनै लाग्दा  सिन्धुपाल्चोक जिल्लाको बाह«बीसे नगरपालिका वडा नं. ३ जम्मा दुई किलोमिटर प्रसारण लाइन खण्डमा बस्नेतले पठाएका स्थानीय वासिन्दाले अवरोध गरेका हुन् । 

आयोजना स्रोतका अनुसार नेता बस्नेतले बाह्रबीसेस्थित अस्पताललाई आयोजनाले १० करोड रुपैयाँ दिनुपर्ने माग राखेका छन् । यो तार तान्ने कार्य पूरा नभए आायोजनाबाट उत्पादित १०२ मेगावाटको बिजुली खेर जाने चिन्ता थपिएको छ ।  

भारतले सोलार आवर (घाम लाग्ने समयमा) मात्र बिजुली दिएर देशभर विद्युत् ऊर्जा आपूर्ति असहज भइरहेका बेला बनिसकेको आयोजनामा तार तान्न नदिएर बिजुली खेर जाने भएको हो । हाल नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट १२ भारु (१८ रुपैयाँ) सम्ममा बिजुली आयात गर्नुपरिरहेको छ ।
नेपाली कांग्रेसको अगुवाईमा अस्पतालका नाममा १० करोड रुपैयाँ मागेपछि सिन्धुपाल्चोकका सत्तारुढलगायत अन्य दलहरुले उक्त रकम नदिन आयोजनालाई सार्वजनिक रुपमा खबरदारी गरिरहेका छन् ।  

स्रोतका अनुसार नेता बस्नेतसँग आयोजनाले जम्मा एकपटक मात्र यस सम्बन्धमा कुराकानी गरेको थियो । स्थानीय गाउँलेले तार तान्ने काम रोक्न नगए काठमाडौंबाट गुण्डा पठाइदिने धम्की बस्नेतले दिने गरेको आयोजना स्रोतले बतायो ।  

उक्त अवरोध हटाउन आयोजनाले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, संसदको सार्वजनिक लेखा समिति, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी–प्रशासनमा हारगुहार गर्दा पनि कतैबाट सुनुवाई नभएको आयोजनाले जनाएको छ ।  नेता बस्नेतकै दबाब, डर र धम्कीका कारण प्राधिकरणले भोटेकोसी नदीको दायाँपट्टि राम्चे भन्ने ठाउँमा बनाउन लागेको सवस्टेशन बस्नेतको निर्वाचन क्षेत्रमा बनाएको छ । हाल प्राधिकरणले निर्माण गरिरहेको सवस्टेशनस्थलको अवस्थिति भिरालो र पहिरोको उच्च जोखिमयुक्त रहेको छ ।

मध्य भोटेकोसीमा आठ लाख नेपाली (सर्वसाधरण) को शेयर लगानी रहेको छ । कुल शेयर पुँजीमा ४९ प्रतिशत सर्वसाधरणको छ भने बाँकी ५१ प्रतिशत पनि विभिन्न सरकारी सार्वजनिक निकायको छ ।  वार्षिक २ अर्ब १० करोड रुपैयाँको बिजुली बेच्न सकिने यो आयोजनाको प्रसारण लाइनअन्तर्गत ७२ वटा टावर रहेको छ । जसमा ७ वटा टावरमा पर्ने तार तान्न नेता बस्नेतले रोक लगाएका हुन् । गत असार १६, २०८० देखि ती टावरको काम हुन सकेको छैन ।
जलसरोकारले समाचार प्रकाशित गरेपछि सम्पर्कमा आएका बस्नेतले स्थानीयसँग बसेर यस विषयमा समाधान खोज्नुपर्ने बताए ।  ‘स्थानीय जनतालाई दिनुपर्ने राहतमा एउटा कर्मचारीले एउटा कुरा गर्ने अर्कोले अर्को कुरा गर्ने गरेका छन् । अनि तीन किलोमिटर आरसी ढलान गरिदिन्छु भनेर उनीहरुले बोलेका रहेछन् । स्थानीय सरकार त्यहाँ छ चौतरामा गएर कुरा गर्छन् । स्थानीयको जग्गाको ८ अर्ब पर्छ यसमा स्थानीय जनतासँग वार्तामा गएर टुङ्गाउनुपर्छ ’ उनले भने । 

सिन्धुपाल्चोकमा जलविद्युत् आयोजना निर्माण गर्ने निजी क्षेत्रले यस्ता विभिन्न हैरानी खेप्दै आएका छन् । २०७१ साल साउन १६ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा निजी क्षेत्रको विद्युत् गृह भोटेकोसी (४५ मेगावाट) को दुई वटा टावर बगाएको थियो । पहिरोपछि भोटेकोसी पावर कम्पनीले टावर ठड्याउन खोज्दा सिन्धुपाल्चोकका सबै राजनीतिक दलहरु मिलेर करिब ११ अर्ब रुपैयाँ बराबरको शेयर सिंत्तैमा मागेर अवरोध पु¥याएका थिए ।

४ वर्षमा सक्नेगरी तामाकाेसी पाँचाैकाे सिभिल र हाइड्रो मेकानिकल ठेक्का सिनो हाइड्रोलाई

प्रकाशित मिति : सोमबार, वैशाख ३१, २०८१ | १२:३८:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया