आयोजना बैंक बाहिरका आयोजना बजेटमा नसमेट्न आयोगको आग्रह
जलसरोकार
काठमाडौँ: राष्ट्रिय योजना आयोगले आयोजना बैंक बाहिरका आयोजना बजेटमा नसमेट्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आयोगका सचिव रविलाल पन्थ ले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार चैत्र २२ सम्ममा २ हजार १५७ वटा आयोजना आयोजना बैंकको प्रणालीमा प्रविष्ट भएका छन् । तीमध्ये एक अर्बभन्दा माथिका, एक अर्बभन्दा कमका, अध्ययनका तथा विशेष परिस्थितिका आयोजना छुट्याएर स्क्रिनिङ भइरहेको उनले जानकारी दिए ।
पन्थले आयोजना बैंकको नियम र मापदण्डअनुसारका आयोजनामा मात्र बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै बैंक बाहिरका आयोजनामा बजेट नदिनुपर्ने बताए । उनका अनुसार आयोजना बैंकलाई प्रभावकारी बनाउने हो भने केवल बैंकमा प्रविष्ट आयोजना मात्रै बजेटमा समावेश हुनुपर्छ ।
उनले आयोजना बैंक प्रणालीमा अझै सुधार आवश्यक रहेको पनि उल्लेख गरे ।
यसैबीच, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले पनि बजेट प्रणालीमा सुधार आवश्यक रहेको सुझाव दिएको छ ।
आयोगका सचिव दिनेश घिमिरे ले संघीय सरकारले दिने सशर्त अनुदानमा आयोजना तोक्ने प्रवृत्ति घटाउनुपर्ने बताए । उनका अनुसार नतिजा सूचकका आधारमा बजेट विनियोजन गर्ने र आयोजना छनोट सम्बन्धित प्रदेश वा स्थानीय तहलाई दिनु उपयुक्त हुन्छ ।
उनले बजेट तयारी चरणमै वित्तीय अनुशासन कायम गर्नुपर्ने, साथै सशर्त अनुदान अन्तर्गतका आयोजना कुन आधारमा सिफारिस भएका हुन् भन्ने विवरण स्पष्ट रूपमा आयोगमा उपलब्ध गराउनुपर्ने सुझाव पनि दिए ।
घिमिरेले आर्थिक वर्षको बीचमा नयाँ कार्यक्रम थपेर सशर्त अनुदान दिने अभ्यासले बजेट अनुशासन कमजोर हुने भएकाले त्यसमा नियन्त्रण आवश्यक रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य