सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बुद्धभूमि नेपाल हाइड्रोपावर घाटाबाट नाफामा, विद्युत् बिक्री बढ्दा वित्तीय अवस्था सुधार

जलसरोकार
बिहीबार, साउन २१, २०८३ | १०:३९:०१ बजे

 

काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आर्थिक वर्ष २०८२/८३ मा घाटाबाट बाहिरिँदै नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी वृद्धि, वित्तीय खर्चमा कमी तथा हकप्रद शेयरमार्फत पूँजी सुदृढ बनेपछि कम्पनीको समग्र वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधारिएको हो।

गत आर्थिक वर्ष कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २८.६८ प्रतिशतले बढेर १८ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १४ करोड ३७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै कम्पनी अघिल्लो वर्षको २ करोड २५ लाख रुपैयाँ घाटाबाट बाहिरिँदै गत आर्थिक वर्ष १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष ६ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा ४२.४५ प्रतिशतले बढेर ९ करोड ५ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंक ऋणको ब्याज भुक्तानी तथा अन्य वित्तीय खर्च ८ करोड ७५ लाख रुपैयाँबाट घटेर ७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।

हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजीगत आधार थप मजबुत बनेको छ। अघिल्लो आर्थिक वर्ष ४० करोड रुपैयाँ रहेको चुक्ता पूँजी १०० प्रतिशतले वृद्धि भएर ८० करोड रुपैयाँ पुगेको छ। हकप्रदबाट प्राप्त रकम ऋण भुक्तानीमा प्रयोग गरिएकाले कम्पनीको दीर्घकालीन ऋण ९१ करोड ५६ लाख रुपैयाँबाट घटेर ७३ करोड ८९ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको विगतको सञ्चित घाटा पनि पूर्ण रूपमा पूर्ति भएको छ। अघिल्लो आर्थिक वर्ष १० करोड ४७ लाख रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीको जगेडा कोष गत असार मसान्तसम्म ३० लाख ५९ हजार रुपैयाँ धनात्मक बनेको छ। कम्पनीको कुल सम्पत्ति पनि बढेर १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को चैत १० गतेदेखि ४.९९ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन तथा बिक्री गर्दै आएको छ।

विद्युत् बिक्रीमा भएको वृद्धि, ऋणभारमा आएको कमी, सञ्चित घाटा समाप्त भई जगेडा कोष धनात्मक हुनु तथा कम्पनी पुनः नाफामा फर्किनु आगामी दिनमा कम्पनीको वित्तीय अवस्था थप सुदृढ हुने संकेतका रूपमा हेरिएको छ। यसले भविष्यमा शेयरधनीलाई लाभांश वितरण गर्ने सम्भावना समेत बलियो बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : बिहीबार, साउन २१, २०८३ | १०:३९:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया