सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पुनर्निर्माणपछि केही दिनमै नयाँ ट्रयाकबाट यातायात चल्ने तयारीमा विपी राजमार्ग

जलसरोकार
बिहीबार, असार ११, २०८३ | १२:१२:१२ बजे

 

काभ्रेपलाञ्चोक : पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त बनेको विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा पुनर्निर्माण कार्य तीव्र पारिएसँगै केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाट सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार वर्षायामलाई मध्यनजर गर्दै क्षतिग्रस्त सडकखण्डमा ग्राभेलसहितको ट्रयाक निर्माणलाई तीव्रता दिइएको छ। कार्यालय प्रमुख सुमन योगेशले असार दोस्रो साताभित्रै पुरानै सडकको पुनर्निर्मित ट्रयाकबाट सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी लिए । 

उनका अनुसार चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसी क्षेत्रमा माथिल्लो भागबाट सवारी सञ्चालन गर्न मिल्ने गरी सडक तयार भइसकेको छ। हाल रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन भइरहेको भए पनि ती डाइभर्सन बाढीले बगाउने जोखिम रहँदै आएको छ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता पटकपटकको वर्षा र बाढीले अस्थायी डाइभर्सनसमेत बगाउँदा राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिएको थियो।

हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक निर्माण गरी ग्राभेल बिछ्याउने काम भइरहेको छ भने वर्षापछि सडकलाई थप उचाइमा निर्माण गरी कालोपत्रे गरिने योजना रहेको छ। केही स्थानमा आरसिसी वालको फाउण्डेसन निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचनात्मक काम पनि जारी रहेको सडक कार्यालयले जनाएको छ।

चारवटा पुनर्निर्माण प्याकेजमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला ढुङ्गा राख्ने काम भइरहेको छ।

राजमार्ग पुनर्निर्माण अन्तर्गत अब दुई लेनको स्तरोन्नत सडक निर्माण गरिनेछ। हालका पुलसँगै थप पुल निर्माण गरी पाँचवटा पुललाई दुई लेनमा स्तरोन्नति गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीसँग एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। त्यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा निर्माण गरिरहेको छ। नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ६१ करोड रुपैयाँमा सम्झौता गरिएको छ।

कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बर्खेखोला–पिप्ले खण्डका लागि भने जाइका मार्फत करिब दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइने भएको छ।

निर्माण कार्य र सम्भावित जोखिमलाई ध्यानमा राख्दै हाल पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा रातिको सवारी आवागमन बन्द गरिएको छ।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको प्रमुख मार्गका रूपमा रहेको विपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो यो राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

 

प्रकाशित मिति : बिहीबार, असार ११, २०८३ | १२:१२:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया