तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
जलसरोकार
काठमाडौं: बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि यातायात अवरुद्ध भएको थियो ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार अवरोध हटाउँदै लेदो बगेका स्थानमा ‘डाइभर्सन’ बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर लम्बाइको डाइभर्सन निर्माणपछि यातायात सञ्चालन सम्भव भएको उनले जानकारी दिए ।
उनका अनुसार सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन निर्माण र अवरोध हटाउने कार्यमा कठिनाइ भएको थियो । रोशी–१२ माम्ती क्षेत्रमा पनि निरन्तर सुक्खा पहिरो खसेका कारण शनिबारसम्म सडक पूर्ण रूपमा खुलाउन नसकिएको भए पनि आज बिहानदेखि सञ्चालन सम्भव भएको इञ्जिनियर योगेशले जानकारी दिए ।
यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाले चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न भागमा ढुङ्गा र लेदोसहितका पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । पहिरोका कारण बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितका पहिरो खसेका थिए । मनसुनको समयमा जोखिमपूर्ण हुने यो सडकमा यस्ता अवरोध पटक–पटक देखिँदै आएको छ ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । त्यसपछि खोलाका भागमा अस्थायी सडक निर्माण गरी कतै एकतर्फ र कतै दुईतर्फी आवागमन हुने व्यवस्था गरिएको थियो ।
बाढीपहिरोले बिपी राजमार्गको कूल १६० किलोमिटरमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किलोमिटर र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किलोमिटर सडकमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधनहरूको आवागमन हुने गर्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग