बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
जलसरोकार
काठमाडौँ, : वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा पर्ने कटुञ्जेदेखि रोशी गाउँपालिकाको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
कटुञ्जे–मङ्गलटार खण्डका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी ‘डाइभर्सन’ वर्षासँगै बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार डाइभर्सन मर्मत कार्य सुरु भइसकेको भए पनि आवागमन सुचारु गर्न केही समय लाग्नेछ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले वर्षाका कारण रोशी खोलामा पानीको बहाव अत्यधिक बढ्दा यसअघि निर्माण गरिएको अस्थायी संरचना बगाएको जानकारी दिए ।
गत वर्ष आएको बाढीपहिरोले काभ्रेको रोशीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब १८ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि सो क्षेत्रमा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको थियो। यसैगरी गत चैत तेस्रो सातामा पुनः चार किलोमिटर सडक बगाएपछि थप अस्थायी संरचना बनाएर आवागमन व्यवस्थापन गरिएको थियो।
राजमार्ग अवरुद्ध भएपछि अहिले धुलिखेलस्थित काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारी साधन ‘होल्ड’ गरेर राखिएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म उक्त खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ।
यसैबीच, डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको छ। गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलामार्फत अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन हुँदै आएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विदेशीलाई छुट, नेपालीलाई खारेजी : ऊर्जा मन्त्री श्रेष्ठको सुशासन ?
-
नेप्से १२.२६ अंकले घट्दा कारोबार रकम ४ अर्ब ४१ करोड
-
अतिरिक्त रकम मागिए हटलाइन ११५१ मा उजुरी दिन ऊर्जामन्त्री श्रेष्ठको आग्रह
-
विकास बजेट खर्चमा सरकार असफल, ११ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै
-
लाङटाङको क्यान्जिन गुम्बामा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
-
नेपाली बजारमा सुन प्रतितोला ५ हजारले बढ्यो, चाँदी पनि महँगियो