वीरगञ्ज भन्सारबाट ११ महिनामा रु २ खर्ब २१ अर्बभन्दा बढी राजस्व सङ्कलन
जलसरोकार
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ। यो रकम कार्यालयलाई दिइएको लक्ष्यको ८९ प्रतिशत रहेको छ।
कार्यालयले चालु आर्थिक वर्षका लागि रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो। यद्यपि लक्ष्य पूरा हुन नसके पनि गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा नौ प्रतिशत अर्थात् रु १७ अर्ब ९७ करोड बढी राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा कार्यालयले रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो।
भन्सार विभागले भने वीरगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो।
कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड तथा जेठमा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको जनाएको छ।
राजस्व सङ्कलनसँगै आयात–निर्यात कारोबारमा पनि वृद्धि देखिएको छ। कार्यालयका अनुसार चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै रु आठ खर्ब ९० अर्ब सात करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा रु सात खर्ब ७० अर्ब मूल्य बराबरका वस्तु आयात भएका थिए।
त्यसैगरी, चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै रु ९९ अर्ब ६६ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा रु ९६ अर्ब ७२ करोड बराबरका वस्तु निर्यात भएका थिए।
सूचना अधिकारी विष्टले आयात–निर्यात गतिविधिमा सुधार आउँदै गएको र राजस्व सङ्कलन पनि उत्साहजनक रहेको बताउनुभयो। उहाँका अनुसार आर्थिक गतिविधि विस्तार भएसँगै आगामी दिनमा राजस्व सङ्कलन थप वृद्धि हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारबाट ११ महिनामा रु २ खर्ब २१ अर्बभन्दा बढी राजस्व सङ्कलन
-
पुनर्निर्माणपछि केही दिनमै नयाँ ट्रयाकबाट यातायात चल्ने तयारीमा विपी राजमार्ग
-
सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घट्यो, चाँदीमा पनि भारी गिरावट
-
निजी क्षेत्रमैत्री मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
-
बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला जलविद्युत्मा क्षति
-
बर्खासँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन बढ्याे