हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा
जलसरोकार
गोरखा– मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।
आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो। ‘हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो’, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ।’
उनले तालको नजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए। हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ।
‘तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको बहाव बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ’, उनले भने, ‘त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रमसमेत रोकिइसकेको छ।’
प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीले तालको पानी गहिरो बनाएर निष्काशन गरेको बताए। सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनको भनाइ छ। मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो।
हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुधबार सेयर बजार १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्दै ४ अर्ब ६८ करोडमा सीमित
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सक्रियता
-
ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया, आईटी क्षेत्रमा कर्जा र नवीन बैंकिङ सेवाबारे छलफल
-
नेपाल चेम्बर अफ कमर्स र विश्व बैंकबीच निजी क्षेत्र र लगानीका अवसरबारे उच्चस्तरीय छलफल
-
नेपालको दिगो पूर्वाधार र विपद् जोखिम व्यवस्थापन सुदृढ गर्न एडीबी, विश्व बैंक र स्विट्जरल्यान्डबीच साझेदारी
-
बूढीगण्डकी लगानी मोडालिटी तत्काल टुङगो लगाऔं : मन्त्री कुलमान घिसिङ