बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
जलसरोकार
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयरसमेत बाँडफाँट गरिसकेको छ।
अब कम्पनीले बाँकी ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
१९.८ मेगावाटको जलविद्युत् आयोजना सञ्चालनमा
बेनी हाइड्रोपावर प्रोजेक्टले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको कम्पनीले जनाएको छ।
आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
कसरी दिने आवेदन ?
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आईपीओमा आवेदन दिन सक्नेछन्।
यसका अतिरिक्त सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि चरणबद्ध संरक्षण कार्यक्रम अघि बढाइने
-
बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
-
म्याग्दीमा एक वर्षमा ५ सयभन्दा बढी घरमा खानेपानी, ९१ हेक्टरमा सिँचाइ
-
देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा
-
साताको पहिलो कारोबार दिन नेप्से १९ अंकले घट्यो