मन्त्री घिसिङको पहलपछि बञ्चरेडाँडा फोहोर विसर्जन अवरोध हट्यो
जलसरोकार
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध अन्ततः हटेको छ । पाँच दिनदेखि रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा आइतबारदेखि फोहोर विसर्जन पुनः सुरु भएको हो । अवरोध हटेपछि उपत्यकाका सडकमै अलपत्र परेका र फोहोर लोड भएका गाडीहरू ल्याण्डफिल्ड साइटतर्फ पठाइएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो । मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली आइतबार बिहान स्थलमा पुगेको थियो। टोलीले ल्याण्डफिल्ड साइटको निरीक्षण गर्दै प्रभावित क्षेत्रका स्थानीय र प्रतिनिधिसँग अन्तक्र्रिया गरेका थिए ।
मन्त्री घिसिङले प्रभावित स्थानीयसँग विगतमा भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने आश्वासन दिए । उनले अवरोध हटाउन १५ दिनको समय माग गर्दै, बल प्रयोगको सट्टा वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरे , “अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अघि बढाइन्छ, दीर्घकालीन योजनाका लागि आवश्यक नीतिगत निर्णय गर्छौं ।”
स्थानीयले उठाएको लिच्चड व्यवस्थापनको लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकायको समिति गठन गरिनेछ । पम्प मर्मत गरी पोखरीमा जम्मा लिच्चड खोलामा नजान दिने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।
ल्याण्डफिल्ड साइटमा जथाभावी फोहोर फाल्ने समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका प्रतिनिधि रहने अनुगमन समिति बनाइने भएको छ । साथै रात्रिकालीन फोहोर व्यवस्थापनका लागि आवश्यक वत्तिको व्यवस्था सोमबारदेखि सुरु गरिनेछ ।
दीर्घकालीन व्यवस्थापनका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने, वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) सम्पन्न गर्ने र कानूनी अड्चन समाधान गरी काठमाडौं उपत्यकाका मेयर फोरममार्फत फोहोर व्यवस्थापनको कार्ययोजना अघि बढाउने तयारी गरिएको मन्त्री घिसिङले जानकारी दिए ।
धुनिवेशी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका अध्यक्ष र प्रभावित वडाध्यक्षहरूले विगतमा भएका सहमति कार्यान्वयन नगर्दा समस्या दोहोरिने गरेको बताएका छन् । उनीहरूले अब फोहोर फाल्ने ठाउँ र जिम्मेवारी स्पष्ट हुनुपर्ने र कार्ययोजना सहित अगाडि बढिनुपर्ने जोड दिए ।
सरकारको प्रतिबद्धता र स्थानीय सहकार्यको वातावरण बनेसँगै बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन कार्य पुनः सुरु भएको छ, जसले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा स्थायी सुधारको दिशा तर्फ पहल सुरु गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत संयुक्त प्राविधिक टोलीको १७ औं बैठक भोलिदेखि पोखरामा
-
आइतबार सेयर बजार ३०.७५ अंकले बढ्यो, नौ अर्बभन्दा बढीको कारोबार
-
मन्त्री घिसिङको पहलपछि बञ्चरेडाँडा फोहोर विसर्जन अवरोध हट्यो
-
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
-
सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?
-
नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान