अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
जलसरोकार
भोजपुर : भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा लामो समयदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको एक क्रसर उद्योगलाई जिल्ला अनुगमन समितिले बन्द गराएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको उक्त उद्योगले प्राकृतिक स्रोतको अनधिकृत दोहन गर्दै आएको पाइएको हो ।
जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङका अनुसार स्थलगत अनुगमनपछि क्रसर उद्योग अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि भएपछि तत्काल प्रभावबाट रोक लगाइएको हो । “हामीले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको क्रमिक अनुगमन गर्दैछौँ,” प्रमुख थुलुङले बताए, “कानुन विपरीत सञ्चालनमा रहेका उद्योगलाई बन्द गर्दै कानुनी दायरामा ल्याउने काम भइरहेको छ ।”
अनुगमनका क्रममा सो क्रसर उद्योगले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनधिकृतरूपमा उत्खनन गर्दै आएको भेटिएको छ । अनुगमन समितिका अनुसार उद्योगले ‘नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७’ का कुनै पनि प्रावधानको पालना गरेको थिएन ।
कानुनअनुसार पक्की पुलबाट ५०० मिटर, सडक मार्ग तथा नदी किनाराबाट २०० मिटर, हाइटेन्सन लाइनदेखि १०० मिटर टाढा क्रसर सञ्चालन गर्नुपर्ने भए पनि लेगुवास्थित क्रसर पक्की पुलदेखि ३०० मिटर, अरुण नदी किनाराबाट ६० मिटर दूरीमा रहेको पाइएको छ । साथै बस्तीभन्दा ५०० मिटरभित्र क्रसर उद्योग सञ्चालन गर्न नपाइने भए पनि यो उद्योग लेगुवा बजार र धनकुटाको राम बजार दुवैबाट करिब ३५० मिटर दूरीमै रहेको समितिको निष्कर्ष छ ।
विसं २०७२ माघदेखि अवैध रूपमा सञ्चालनमा आएको यो क्रसर उद्योगलाई बन्द गरेपछि विभिन्न व्यक्ति तथा समूहले पुनः सञ्चालनको दबाब दिएको समितिले जनाएको छ। तर आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न नदिने समितिको स्पष्ट धारणा छ ।
“राज्यको सम्पत्तिको दोहन गर्न पाइँदैन,” प्रमुख थुलुङले भने, “सबै क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन आवश्यक कदम अघि बढाएका छौँ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु