हाइड्रोजनमा स्थानीय तहको अग्रसरता, बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
जलसरोकार
बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो । ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शत्प्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको भनाइ छ । ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिनलगायत संस्थाहरुसँग सहकार्य गरेको अध्यक्ष अधिकारीले बताए । जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरिने अध्यक्ष अधिकारी बताउँछन् । विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रुपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग हुने अधिकारीले बताए ।
अध्यक्ष अधिकारीले भने, ‘विभिन्न सङ्घसंस्थाहरुसँग सहकार्य गरेर नयाँ कामको सुरुआत गरेका छौँ, अब गिरिङ्गी जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ, अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ, योजनाअनुसार काम सम्पन्न भएमा सन् २०२४ भित्रै हाइड्रोजन उत्पादनको काम सम्पन्न हुनेछ, सुरुआतमा गिरिङ्दी खोलाका उपभोक्तालाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइनेछ, पछि सबैतिरै विस्तार गर्ने योजना छ ।’
गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका विभिन्न असर पर्दै गएको हुँदा गाउँपालिकाले शत्प्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन गरी र प्रयोग बढाउने बताए । अन्य ऊर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तोसमेत हुने उनको भनाइ छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्तालाई घरघरमा वितरण गरिने उपाध्यक्ष वन बताउँछन् ।
हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ मङ्गलबार वडा नं २ खर्बाङमा हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिबारे प्रदर्शन गरिएको छ । हाइड्रोजनको महत्व र यसको व्यावसायिक उपयोगिताबारे जानकारी दिने उद्देश्यले परीक्षणका रुपमा काठमाडौँबाट ल्याइएको हाइड्रोजनबाट खाना पकाएर नमूना प्रदर्शन गरिएको थियो । हाइड्रोजनको प्रयोग बढाउन र यसको उत्पादनपश्चात् उपभोक्ताले कसरी प्रयोगमा ल्याउन सक्छन् भन्नेबारे नमूना प्रदर्शन गरिएको उपाध्यक्ष वनले बताए । हाइड्रोजनमार्फत खाना पकाएर नमूना देखाइएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना