सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिउँदमा उपत्यकामा लोडसेडिङ हुन नदिन प्राधिकरणको मार्गचित्र, ६५० मेगावाट माग धान्ने लक्ष्य

मातातीर्थ-स्युचाटार-बालाजु प्रसारण करिडोरको क्षमता विस्तारदेखि सबस्टेसनको भार स्थानान्तरणसम्मका आठ योजना; उपलब्ध विद्युत्‌ उपत्यकाका सबै क्षेत्रमा पुर्‍याउनु मुख्य चुनौती

जलसरोकार
बिहीबार, मंसिर ०३, २०८३ | १३:२७:५६ बजे

काठमाडौं : आगामी हिउँदमा काठमाडौं उपत्यकामा विद्युत्‌ कटौती हुन नदिन नेपाल विद्युत्‌ प्राधिकरणले प्रसारण तथा वितरण प्रणाली सुधारको आठबुँदे मार्गचित्र तयार गरेको छ। उपत्यकाको उच्चतम विद्युत्‌ माग ६५० मेगावाट पुग्ने प्रक्षेपणसहित प्राधिकरणले प्रसारण लाइनको क्षमता विस्तार, सबस्टेसनको भार स्थानान्तरण र वैकल्पिक विद्युत्‌ आपूर्ति मार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ।

प्राधिकरणले तयार गरेको ‘काठमाडौं विन्टर २०८३ सिस्टम स्ट्राटेजी’ अनुसार आगामी हिउँदमा काठमाडौं उपत्यकाको अधिकतम विद्युत्‌ माग ६५० मेगावाट पुग्ने अनुमान छ। आर्थिक वर्ष २०८२ मा उपत्यकाको वास्तविक उच्चतम विद्युत्‌ माग ६०३ मेगावाट पुगेको थियो। चालु आर्थिक वर्ष २०८३ मा हालसम्मको उच्चतम माग ५४३ मेगावाट र १ असोजसम्मको तत्कालीन माग ५०५ मेगावाट रहेको प्राधिकरणको बागमती प्रदेश प्रमुख मुनिन्द्र ठाकुरले बताए।

उनका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग, नयाँ विद्युत्‌ जडान, ताप प्रणालीमा विद्युत्‌को प्रयोग र समग्र माग वृद्धिलाई ध्यानमा राखेर आगामी हिउँदका लागि ६५० मेगावाटको उच्चतम मागलाई आधार बनाइएको छ।

ठाकुरका अनुसार काठमाडौं उपत्यकामा विद्युत्‌ आपूर्ति गर्न सकिने स्रोत तथा पूलिङ क्षमता करिब ७०० मेगावाट छ। मातातीर्थ २२०/१३२ केभी प्रणालीबाट करिब ४०० मेगावाट, लामोसाँघु-भक्तपुर १३२ केभी प्रसारण लाइनबाट करिब २१५ मेगावाट र कुलेखानीबाट करिब ६० मेगावाट गरी कुल ६७५ मेगावाट विद्युत्‌ पूलिङ गर्न सकिने क्षमता रहेको छ।

तर विद्युत्‌ स्रोतको उपलब्धता मात्रै पर्याप्त छैन। स्रोतबाट आएको विद्युत्‌ उपत्यकाभित्रका विभिन्न सबस्टेसन हुँदै उपभोक्तासम्म पुर्‍याउने प्रसारण तथा वितरण सञ्जालको क्षमता मुख्य चुनौतीका रूपमा देखिएको ठाकुरले बताए। त्यसैले प्राधिकरणले उपलब्ध संरचनाको अधिकतम उपयोग र कमजोर प्रसारण करिडोरको सुधारलाई हिउँदे रणनीतिको केन्द्रमा राखेको छ।

मातातीर्थ-स्युचाटार-बालाजु करिडोर मुख्य अवरोध

प्राधिकरणले मातातीर्थ-स्युचाटार-बालाजु १३२ केभी प्रसारण करिडोरलाई काठमाडौंको विद्युत्‌ आपूर्तिमा प्रमुख अवरोधका रूपमा पहिचान गरेको छ। यस करिडोरका प्रसारण लाइन र त्यससँग सम्बन्धित बे, बसबार तथा ट्रान्सफर्मरको क्षमतामा सुधार आवश्यक रहेको प्राधिकरणको रणनीतिमा उल्लेख छ।

त्यसैगरी पाटन, चाबहिल, भक्तपुर, टेकु, बानेश्वर र के-३ सबस्टेसनमा उच्च मागका समयमा बढी भार पर्ने समस्या छ। फुटुङ र चापागाउँजस्ता नयाँ सबस्टेसनमा विद्युत्‌ पुर्‍याउनसमेत माथिल्लो प्रसारण सञ्जालको क्षमता बढाउनुपर्ने देखिएको उनो भनाइ छ।

प्राधिकरणले तयार गरेको काठमाडौं उपत्यकाको हिउँदे उच्चतम विद्युत्‌ प्रवाहसम्बन्धी एकल रेखाचित्रमा मार्कीचोक २२० केभी, मातातीर्थ, स्युचाटार, फुटुङ, बालाजु, टेकु, पाटन, भक्तपुर, मुलपानी र चापागाउँलगायतका सबस्टेसनबीचको विद्युत्‌ प्रवाह देखाइएको छ। यसले उपत्यकामा विद्युत्‌ ल्याउने संरचनासँगै उपत्यकाभित्रको प्रसारण सञ्जाल पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखाउँछ।

लोडसेडिङ रोक्न आठबुँदे योजना

प्राधिकरणले आगामी हिउँदअघि कार्यान्वयन गर्नुपर्ने आठवटा आयोजना तथा प्रणाली सुधारका कामलाई प्राथमिकतामा राखेको छ।

पहिलो प्राथमिकतामा मातातीर्थ-चोभार-पाटन प्रसारण लाइन निर्माण रहेको छ। यसअन्तर्गत चोभार सबस्टेसन र चोभारबाट १३२/११ केभी पाटन सबस्टेसनसम्म प्रसारण संरचना विकास गर्ने योजना छ। यसले स्युचाटार र बालाजु करिडोरमाथिको निर्भरता कम गर्दै उपत्यकाको दक्षिणी क्षेत्रमा वैकल्पिक विद्युत्‌ आपूर्ति मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ।

दोस्रो योजनाअन्तर्गत महाराजगन्ज, लैनचौर र बालाजुबाट फुटुङ तथा चापागाउँतर्फ विद्युत्‌ भार स्थानान्तरण गरिनेछ। यसबाट बालाजु क्षेत्रमा पर्ने भार कम गरी उपलब्ध प्रसारण क्षमताको उपयोग बढाउने लक्ष्य छ।

त्यस्तै, टेकु र पाटन सबस्टेसनको भार चोभारमा स्थानान्तरण गर्ने, बानेश्वरको भार पाटनमा सार्ने र के-३ को भार चाबहिल, लैनचौर, टेकु तथा बानेश्वरमा स्थानान्तरण गर्ने योजना पनि अघि सारिएको छ।

प्राधिकरणले मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनका दुवै सर्किटको कन्डक्टर स्तरोन्नति (रिकन्डक्टरिङ) गर्ने र स्युचाटार सबस्टेसनको बसबार क्षमता सुधार गर्ने कामलाई पनि प्राथमिकतामा राखेको छ।

आठौँ योजनाका रूपमा लामोसाँघुमा १३२/६६ केभी ट्रान्सफर्मर जडान गर्ने प्रस्ताव गरिएको छ। यसबाट पञ्चखाल, मेलम्ची र बनेपातर्फ विद्युत्‌ आपूर्ति सुधार गर्नुका साथै काठमाडौंका लागि उपलब्ध प्रभावकारी प्रसारण क्षमता बढाउने अपेक्षा गरिएको छ।

उपलब्ध संरचनाबाटै अधिकतम विद्युत्‌ प्रवाह गर्ने तयारी

नयाँ प्रसारण लाइन तथा सबस्टेसन निर्माणसँगै प्राधिकरणले विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने रणनीति पनि अघि सारेको छ।

हिउँदमा मातातीर्थ, भक्तपुर र कुलेखानी तीनवटै स्रोतबाट विद्युत्‌ प्रवाह अधिकतम बनाउने, आवश्यकताअनुसार लोड स्थानान्तरण गर्ने र प्रसारण सञ्जालको पुनर्संरचना गर्ने योजना छ।

कुनै एउटा प्रमुख प्रसारण लाइन वा ट्रान्सफर्मर बन्द हुँदा पनि व्यापक विद्युत्‌ अवरोध नहोस् भन्नका लागि एन-१ आकस्मिक व्यवस्थापन योजना र स्विचिङ तयारी गर्नुपर्ने प्राधिकरणको रणनीतिमा उल्लेख छ।

त्यसैगरी आवश्यक उपकरण तथा स्पेयर पार्ट्स उपलब्ध गराउने, प्रसारण तथा वितरण प्रणालीका विभिन्न निकायबीच समन्वय गर्ने र योजनाबद्ध लोडसेडिङलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्ने नीति पनि दस्तावेजमा समेटिएको छ।

६५० मेगावाट माग धान्ने लक्ष्य, कार्यान्वयनको परीक्षा

प्राधिकरणले आफ्नो रणनीतिमार्फत आगामी हिउँदमा काठमाडौं उपत्यकाको करिब ६५० मेगावाट उच्चतम माग विश्वसनीय रूपमा धान्ने लक्ष्य राखेको छ। विद्यमान पूर्वाधारको उपयोग बढाउने, व्यापक विद्युत्‌ अवरोधको जोखिम घटाउने र उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउने अपेक्षा ठाकुरले बताए।

तर ६७५ मेगावाटको कुल पूलिङ क्षमता हुनु र उपत्यकाका सबै क्षेत्रमा आवश्यक समयमा त्यति नै विद्युत्‌ उपलब्ध गराउन सक्नु फरक विषय हुन्। स्रोतगत क्षमता, प्रसारण लाइनको वास्तविक वहन क्षमता, सबस्टेसनका ट्रान्सफर्मरको भार र उपत्यकाभित्रको वितरण सञ्जालको अवस्थाले वास्तविक आपूर्ति निर्धारण गर्छ।

त्यसैले प्राधिकरणको हिउँदे मार्गचित्रको सफलता आठवटा प्राथमिकतामा राखिएका काम समयमै सम्पन्न गर्न सक्ने क्षमतामा निर्भर हुनेछ। विशेषगरी मातातीर्थ-स्युचाटार-बालाजु करिडोरको अवरोध हटाउने, वैकल्पिक आपूर्ति मार्ग तयार गर्ने र उच्च भार पर्ने सबस्टेसनको व्यवस्थापन गर्न सके काठमाडौंमा हिउँदे विद्युत्‌ आपूर्ति थप भरपर्दो बनाउन सकिने प्राधिकरणको अपेक्षा छ।

काठमाडौंको विद्युत्‌ माग बढ्दै जाँदा नयाँ उत्पादन स्रोतबाट विद्युत्‌ ल्याउने व्यवस्था मात्र गरेर पुग्दैन। उपलब्ध विद्युत्‌ माग भएका क्षेत्रमा पुर्‍याउन सक्ने प्रसारण तथा वितरण पूर्वाधार निर्माण र व्यवस्थापन नै हिउँदमा लोडसेडिङ हुन नदिने प्रमुख आधार बन्ने देखिन्छ।

 

प्रकाशित मिति : बिहीबार, मंसिर ०३, २०८३ | १३:२७:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया