देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक
जलसरोकार
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को प्रभावकारी प्रवर्द्धनका लागि कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने देखिएको छ।
मन्त्रालयद्वारा तयार गरिएको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी प्रतिवेदनले सन् २०३० सम्म उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमा विद्युतीय सवारीसाधनको उपयोग उल्लेख्य रूपमा वृद्धि हुने उल्लेख गरेको छ। हाल देशभर करिब १ हजार चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन्।
प्रतिवेदनअनुसार अधिकांश चार्जिङ स्टेसन निजी क्षेत्रले सञ्चालन गर्दै आएका छन्। विशाल ग्रुप, पारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल, साइमेक्स इङ्क, दिगो प्रालि, शशीला मोटर्स, त्रिवेणी ग्रुपलगायत कम्पनीहरूले देशका विभिन्न स्थानमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेका छन्। तर अधिकांश स्टेसन काठमाडौं, पोखरा र भरतपुरजस्ता मुख्य सहरमा केन्द्रित रहेको पाइएको छ।
प्रतिवेदनले चार्जिङ पूर्वाधारको अभाव, ब्याट्री लागत, सडक पूर्वाधारको सीमितता, ब्याट्रीको पुनः प्रयोग तथा विसर्जनजस्ता विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। त्यस्तै दक्ष जनशक्ति अभाव, निजी क्षेत्रको सीमित सहभागिता, आयातमा निर्भरता, उच्च प्रारम्भिक लागत र न्यून पुनः बिक्री मूल्य पनि प्रमुख समस्या रहेको उल्लेख गरिएको छ।
यसैगरी, राजमार्ग, ग्रामीण क्षेत्र र दुर्गम गाउँमा चार्जिङ सुविधाको अभावका कारण विद्युतीय सवारीसाधनलाई सार्वजनिक यातायात तथा लामो दूरीको यात्रामा प्रयोग गर्न कठिनाइ भइरहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारले जलविद्युत् उत्पादनको आन्तरिक खपत बढाउने उद्देश्यसहित विद्युतीय सवारीसाधन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताका ६२ वटा फास्ट चार्जर सञ्चालन गरिरहेको छ भने थप पूर्वाधार विस्तारमा पनि लगानी गर्दै आएको छ।
ऊर्जा मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अन्तर्गत सन् २०३० सम्म देशभर चार्जिङ स्टेसन सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ। साथै प्रमुख सहरमा विद्युतीय बस र ट्रली बस सञ्चालनमार्फत विद्युत् खपत बढाउने योजना पनि अघि सारिएको छ।
प्रतिवेदनले विद्युतीय सवारीसाधनको प्रवर्द्धनले कम सञ्चालन लागत, रोजगारी सिर्जना, वायु प्रदूषणमा कमी, सार्वजनिक यातायातको आधुनिकीकरण तथा पर्यटकीय आकर्षण वृद्धि जस्ता अवसर सिर्जना गर्ने उल्लेख गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बिजुली खेर, हिउँदमा आयात : कता जाँदैछ नेपालको ऊर्जा नीति?
-
रास्वपा जनताको आशा बोकेको पार्टी हो,असफल हुने छुट छैन : सांसद न्यौपाने
-
देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक
-
गएकाे साता नेप्से करिब १ प्रतिशत घट्यो, कारोबार रकममा पनि घट्याे
-
ऊर्जा संक्रमणको मोडमा इप्पान : एकता, नेतृत्व र राष्ट्रिय दायित्वको समय
-
माथिल्लो माई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द